काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एक जनाको निर्माणाधीन सेप्टिक ट्यांकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो, भने अर्का एकजना भीमसेनथान मन्दिरनजिक रहस्यमयरूपमा मृत भेटिएका हुन्।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार जिल्लाको कीर्तिपुर नगरपालिका–५ जाखास्थित निर्माणाधीन शौचालयको सेप्टिक ट्यांकको पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने रसुवा घर भएका पाँच वर्षीय अभिषेक मगरको मृत्यु भएको छ।
डुबेर बेहोस अवस्थामा भेटिएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आजै मृत्यु भएको हो। उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए।
यसैबीच काठमाडौँ महानगरपालिका–२० भीमसेनथान मन्दिर नजिक एक व्यक्तिको रहस्यमय रूपमा मृत्यु भएको छ। मृत भेटिएका अन्दाजी ५०–५५ वर्षीय पुरूषको पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
Shares

प्रतिक्रिया