कोशी


मध्यरातमा हत्या, बिहान मन्दिर पुगेर प्रायश्चित्त

मध्यरातमा हत्या, बिहान मन्दिर पुगेर प्रायश्चित्त

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार २२:१, विराटनगर

झापाको दमकमा एक किशोरीको हत्या गरी बोरामा हालेर फ्याँकेको अवस्थामा शव फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

गत जेठ १६ गते झापा जिल्ला दमक नगरपालिका वडा नम्बर १० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारि राखिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो।

मृतकका पिता नारायण तिवारीले दमक नगरपालिका वडा नम्बर ८ वसन्त टोल निवासी अन्दाजी २१ वर्षीय रोमा भनिने रमा तिवारी भएको पुष्टि गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो। सुरुमा प्रहरीले रोमाका प्रेमीमाथि शंका गरे पनि संलग्नताको आधार नदेखिएपछि थप अनुसन्धान  गरेपछि प्रहरी आरोपीसम्म पुग्न सफल भएको हो।

घटनालगत्तै कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय धरान सुनसरी र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोली अनुसन्धानमा जुटेको थियो। टोलीले घटनास्थलको सूक्ष्म निगरानी, प्राविधिक विश्लेषण तथा घटना भएको स्थल वरपरको सिसिटिभी फुटेजको अध्ययन गरी घटनामा संलग्न व्यक्तिको पहिचान गरेको झापा प्रहरीले जनाएको छ।

हत्यामा संलग्न रहेको आरोपमा साविक भारतको बिहार राज्य, अररिया जिल्ला, ग्राम पञ्चायत मिरसियाकला, थाना भरगामाका स्थायी बासिन्दा भई हाल दमक नगरपालिका वडा नम्बर ५ मा डेरा गरी टाइल्स तथा मार्बल जडानको ठेक्कापट्टाको काम गर्ने ३४ वर्षीय राकेश कुमार पण्डित (रमेशकुमार) रहेको प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो। प्रहरीले जेठ २१ गते राति ११ बजे उनको डेरा कोठाबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतको कमान्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

लेनदेन विवाद र मध्यरातमा हत्या
जेठ १३ गते मध्यरातमा उनीहरूबीच भेटघाट भएको थियो। दमकमा कार्यरत टाइल्स मिस्त्री पण्डित र मृतक रोमाबीच पुरानै चिनजान रहेको र घटना भएको रात पैसाको लेनदेनलाई लिएर विवाद उत्पन्न भएको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

आरोपीको डेरा नजिकै विवाद बढेपछि राति ११ बजेको आसपासमा राकेशले रोमाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। राति हल्ला हुँदा बदनाम हुने डरले आफूले हत्या गरेको आरोपीले बयानका क्रममा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसुन्धरा खड्काले जानकारी दिइन्। 

प्रहरीका अनुसार, युवतीको हत्या गरेपछि पण्डितले आफ्नै कोठाबाट सेतो बोरा ल्याएर शवलाई प्याक गरेका थिए। राति नै उनले भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा शव लोड गरेर दमक-१० स्थित रतुवा खोलाको पुलमुनि (सेतुमारी क्षेत्र) फालेको थिए। हत्या गरेर शव व्यवस्थापन गरिसकेपछि आरोपी रातभर निदाउन सकेनन्।

भोलिपल्ट अर्थात् जेठ १४ गते बिहानै उनी दमकमा रहेको पशुपति मन्दिरमा पुगेर गल्ती भयो भन्दै प्रायश्चित्त गरी क्षमायाचना र पूजा समेत गरेको प्रहरी स्रोतले जनाएको छ। शव फालिएको ३ दिनपछि अर्थात् जेठ १६ गते मात्र स्थानीयले बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पक्राउ परेका पण्डितविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यान सम्बन्धी कसुर र जबरजस्ती करणी कसुरमा मुद्दामा अनुसन्धान सुरु भएको छ।

झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी राखिएको झापा प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक सुमन बानियाले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad