उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आम नागरिकलाई आयोडिनयुक्त गुणस्तरी नुन उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले विश्व स्वास्थ्य संगठन लगायत संस्थाहरुका पछिल्ला तथ्यांकहरुले नुनसम्बन्धी नीति परिवर्तन गर्नुपर्ने देखाएको उल्लेख गर्दै यसका लागि सरकारले आवश्यक काम गरिरहेको बताए।
‘विश्व स्वास्थ्य संगठनले दिएका पछिल्ला तथ्यांकहरुले पनि अब हामीले नुनसम्बन्धी नीतिहरु परिवर्तन गर्नुपर्ने हो कि जस्ता संवेदनशील कुराहरू आएका छन्,’ भण्डारीले भने, ‘यी सबै तथ्यांकहरुमा छलफल गरेर सरकारका लागि अब के आवश्यक हो त भन्ने कुराको एउटा योजना बनाउनुपर्छ। त्यसका लागि हामी गम्भीर भएर लाग्छौँ भन्ने कुराको प्रतिवद्धता व्यक्त गर्छौं। अहिले नुनसम्बन्धी दायित्व अर्को मन्त्रालयअन्तर्गत भएपनि यस्ता संवेदनशील विषयमा हामी सबै जिम्मेवार हुनुपर्छ। अहिले पनि नुनको मूल्यमा देशभर एकरुपता छैन। राज्यले सहुलियत दिएकै कारण काठमाडौँमा २६ रुपैयाँमा पाइने नुन बाजुरामा ९ रुपैयाँमा पाइन्छ।’
उनले थपे, ‘दुर्गम जिल्लाहरुमा नुन पुग्दासम्म लामो समय लाग्ने र बीचमा बाटो बिग्रिएको कारण कोटाअनुसार नुन पुर्याउन नसकिएको पनि सत्य हो। लामो समयसम्म बाटो बन्द हुँदा बाजुराका लागि लगिएको नुन अन्यत्र पठाउनुपर्ने पनि हुन्छ।’
समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानुन परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ।
Shares

प्रतिक्रिया