नेपाली कांग्रेसले पार्टीको हितविपरीत काम गरेको भन्दै २६ नेतालाई सचेत गराएको छ। केन्द्रीय अनुशासन समितिले ०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा परेका उजुरीमाथि कारबाही पक्रिया अघि बढाउँदै समितिमा आएका उजुरीका आधारमा सल्यानका ११, डोल्पाका १०, कैलालीका २, दैलेख, खोटाङ र धनुषाका १-१ गरी २६ जनालाई सचेतक गराइएको पार्टी अनुशासन समितिले जनाएको छ।
'कोसी प्रदेशबाट १७, मधेस प्रदेशबाट २३, वाग्मतीबाट चार, गण्डकीबाट तीन, लुम्बिनीबाट ३६, कर्णालीबाट चार र सुदूरपश्चिमबाट एकजना गरी जम्मा ८८ जनाको निवेदन २०८२ असार २२ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिएको छ,' बिहीबार सार्वजनिक विज्ञप्तिमा उल्लेख छ।
समितिले बुधबार प्रदेश महामन्त्री र जिल्ला सभापतिसहित ६ जनालाई पार्टीबाट निष्कासन तथा १२ जनालाई निलम्बन गरेको थियो।
समितिको ०८२ असार ९ देखि १७ गतेसम्म बसेको बैठकले थप २६ जनालाई सचेत गराउने निर्णय गरेको हो। पार्टीबाट उठेका र पार्टीले समर्थन गरेका गठबन्धनका उमेदवारविरुद्ध उमेदवारी दिने व्यक्ति, उनीहरूका प्रस्तावक तथा समर्थकलाई सचेत गराइएको समितिले जनाएको छ।
Shares

प्रतिक्रिया