वामपन्थी दलहरु निकटका लेखकहरुको संगठन प्रगतिशील लेखक संघ (प्रलेस) को अध्यक्षमा देवी दुलाल क्षेत्री चयन भएका छन्।
यही चैत २३ र २४ गते काठमाडौँमा चलेको प्रलेसको १३औँ राष्ट्रिय सम्मेलनले दुलालको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।
सम्मेलनले ४६ सदस्यीय राष्ट्रिय परिषद् समेत चयन गरेको प्रलेसले जनाएको छ।
केन्द्रीय समितिको उपाध्यक्षमा समीर सिंह र डा. अमृता शर्मा, महासचिव पारस ढकाल, उपमहासचिव बोधकुमार घिमिरे, सचिव डा.हरिप्रसाद तिमल्सिना र कुशल बोगटी तथा कोषाध्यक्षमा डा.कृष्ण सुवेदी चयन भएका छन्।
सम्मेलनको उद्घाटन संघका पूर्व अध्यक्ष निनु चापागाईले गरेका थिए। सम्मेलनमा प्रलेस पारिजात स्मृति सम्मान शान्ता श्रेष्ठलाई, प्रलेस हृदयचन्द्र सिंह प्रधान स्मृति सम्मान मातृका पोखरेललाई, प्रलेस युद्धप्रसाद मिश्र स्मृति सम्मान प्राडा जिवेन्द्रदेव गिरीलाई, प्रलेस श्यामप्रसाद स्मृति सम्मान गोपीरमन उपाध्यायलाई र प्रलेस रमेश विकल स्मृति सम्मानबाट कमल जंगली आचार्यलाई प्रदान गरिएको छ।
प्रलेसमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, माले, विप्लव नेतृत्वको नेकपा, नेकपा (मसाल) लागतका वामपन्थी दल निकटका लेखक, कलाकार आवद्ध छन्।
प्रलेसको पहिलो भेला २००९ असोज ५ गते वीरगन्जमा भएको थियो। सो भेलाले श्यामप्रसाद शर्माको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरेको थियो।
यसैवीच प्रलेसका नवनिर्वाचित पदाधिकारीले मंगलबार बिहान खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन्। त्यसक्रममा प्रचण्डले प्रलेसका पदाधिकारीलाई बधाई एवम् शुभकामना दिँदै सफल कार्यकालको कामनासमेत गरेका छन्।

Shares

प्रतिक्रिया