मधेस


जनावरलाई थापेको विद्युतीय धरापमा परिन् बालिका, युवकलाई लाग्यो ज्यान मुद्दा

जनावरलाई थापेको विद्युतीय धरापमा परिन् बालिका, युवकलाई लाग्यो ज्यान मुद्दा

पक्राउको प्रतीकात्मक तस्बिर


नेपालखबर
चैत २६, २०८१ मंगलबार ९:४१, सिराहा

सिराहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरमा विद्युतीय धरापमा परेर १३ वर्षीया बालिका गुलसना खातुनको मृत्यु भएको छ।

जंगली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ।

यसैबीच धराप थापेको आरोपमा प्रहरीले गोलबजार-९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई यही चैत २४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

उनका अनुसार सार्कीलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ।

गत फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो।

घरबाट घाँस काट्न जान्छु भनी हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदा खातुनले खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन्। बालिका हराएको १३औँ दिन चैत १२ मा बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो।

त्यसलगत्तै मिर्चैया प्रहरीसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली, मधेस प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धानका क्रममा चैत २४ गते सार्कीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उक्त घटनामा बरामद दशीका रूपमा बालिकाले घाँस काट्न लगेको हँसिया भेटिएको छ।

अनुसन्धानका क्रममा फागुन २९ गते  बिहान करिब ९ बजे सार्कीले जंगली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप थापेको र केही बेरमै बालिका चिच्याएको पाइएको अनुसन्धानका क्रममा खुलेको छ। 

घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad