सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ।
डीआईजीहरु तारिणी लम्साल, शैलेश थापा र हरि पाल एआईजीमा बढुवा भएका हुन्।
गत फागुन १५ गते बढुवा सिफारिस समितिले सिफारिस गरे पनि मन्त्रिपरिषद् बैठकले निर्णय गर्न सकेको थिएन।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी बढुवाको निर्णय गरेको हो। बढुवासँगै लम्सालले प्रहरी प्रशिक्षण प्रतिष्ठान, थापाले मानव श्रोत तथा प्रशासन र पालले अपराध अनुसन्धान तथा कार्य विभागको जिम्मेवारी पाएका छन्।
हाल थापा प्रहरी प्रवक्ताको भूमिकामा छन् भने, लम्साल सूदुरपश्चिम प्रदेश प्रमुख र पाल विशेष ब्युरोमा कार्यरत छन्।
पहिलो नम्बरमा बढुवा भएका लम्साल आईजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै असार २४ गते अवकाश पाउँदैछन्। त्यसपछि थापा र पालमध्ये एक जनाले प्रहरी प्रमुखको जिम्मेवारी पाउने छन्।

प्रतिक्रिया