सरकारले मंगलबारबाट सुरु गरिएको लकडाउनको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु आपूर्ति नरोक्न सम्बन्धित सबैमा आह्वान गरेको छ।
‘स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसंचार, सूचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायतका आवश्यक वस्तुहरुको कारोबार गर्ने पसलहरु बन्द नहुने हुँदा सदाझैँ निर्वाध रुपमा संचालन गरिदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ,’ गृह मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।
गृहले नेपाल–भारत सीमा नाकामा अलपत्र परेका नेपाली नागरिकहरुलाई कडा स्वास्थ्य जाँच गरी क्वारेन्टाइनमा राख्ने र रहने गरी नेपाल प्रवेश गराउन निर्देशन दिइसकिएको समेत जनाएको छ।
‘कुनै जरुरी काम नपरिकन पनि सवारी पास माग गर्ने प्रवृत्ति बढेको देखियो,’ गृहले भनेको छ। ‘पहिलो दिन भएकोले आवश्यक वस्तु र सेवा संचालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएका पनि देखिएका छन्।’
गृहले कोरोना भाइरसको संक्रमणबाट जोगिने मुख्य उद्देश्यले जारी गरिएको आदेश भएको हुँदा आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनमा समेत सहयोगका लागि आग्रह गरेको छ।
लक डाउनको पहिलो दिन मंगलबार केही स्थानमा कुनै अत्यावश्यक काम नपरी हिँडडुल गर्ने नागरिकलाई सम्झाउने, बुझाउने, जरिवाना गरी छाड्ने, बिना पासका सवारी साधनलाई नियन्त्रणमा लिई साँझ फिर्ता दिने लगायतका काम गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया