इलामको देउमाई नगरपालिकाले मिर्गौला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो।
नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार पाँच सय आगामी साउन महिनादेखि उपलब्ध गराउने जानकारी दिए। ‘साउन शुरुदेखि नगरभित्र मिर्गौला रोगीको तथ्याङ्क सङ्कलन गरिने छ। यस्ता बिरामीलाई थोरै भए पनि राहत पु-याउन यो कार्यक्रम ल्याएका हौँ’ उनले भने।
यसपालिको नगरसभाले यो निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताए। मिर्गौला पीडितका परिवारले उपचार गराउन नै धेरै रकम सक्ने र बिरामीको हेरचाहमा अधिकांश समय बिताउनु परेपछि आर्थिक भार बढ्ने भएकाले सहयोग गर्न लागिएको कार्यकारी अधिकृत दाहालले बताए।
नेपाल सरकारले पनि दीर्घरोगीलाई उपचार खर्च भनेर यसअघि नै रु एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ। रासस
Shares

प्रतिक्रिया