समाज


नारायणगढ–मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

नारायणगढ–मुग्लिन सडकखण्डका सात ठाउँ पहिरोको जोखिममा

नेपालखबर
असार १८, २०७६ बुधबार १०:२९,

नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन्।

ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ। गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन शुरु गरेको छ।

नारायणगढ–मुग्लिन सडकखण्डका इञ्जिनीयर शिव खनालका अनुसार गाईघाट, घुमाउने, भालुढुङ्गा, जलविरे, चारकिलो, टोपेखोला र कालीखोला पहिरोको हिसाबले जोखिमपूर्ण छन्। खनालले चारकिलो र टोपे खोला पहिरोको दृष्टिले उच्च जोखिममा रहेको जानकारी दिए।

चारकिलोमा साना चट्टान रहेकाले जति झ-यो त्यति डाँडाले आफ्नो आकार लिने अवस्था रहेको छ। सो स्थानमा गत वर्ष धेरै पहिरो खसेर प्राकृतिक भिरालो बन्ने क्रममा रहेको भए पनि यस वर्ष अझै पहिरो झर्ने देखिएको खानालको भनाइ छ। टोपेखोलामा पहाडको भित्तो उल्टो परेर झुण्डिएको अवस्थामा रहेकाले पानीले गलेसँगै जुनसुकै बेला झर्ने खतरा रहेको छ।

ती स्थानमा वर्षात् अघिनै पहिरो रोक्ने काम गर्नुपर्नेमा ढिलासुस्ती भएका कारण अझै काम शुरुआत गर्ने टुङ्गो लागेको छैन। खनालले वर्षात्पछि मात्र पहिरो रोक्ने काम अघि बढ्ने बताए। सडक निर्माणका क्रममा ठेक्का पाएका तीन कम्पनीलाई आगामी साउन २५ गतेसम्म पहिरो पन्छाउनुपर्ने जिम्मेवारी छ। त्यसपछि आयोजनाले आफैँ व्यवस्थापन गर्नुपर्ने हुन्छ।

आयोजनाले पहिरोको जोखिम हुने भएकाले पानी परेको समयमा सतर्कता अपनाएर आवागमन गर्न सुझाव दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो पन्छाउनका लागि मुग्लिन र जुगेडीमा डोजरसहितको प्रहरी टोली तयारी अवस्थामा राखेको जनाएको छ।

गत वर्षहरुमा वर्षात्को समयमा घण्टौँसम्म यात्रुले सडकमा बिताउनुपर्ने बाध्यता भए पनि त्यो अवस्था भने हटेर गएको छ। यस सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवागमन गर्ने गर्दछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad