ad ad

समाज


मुलुक छोड्ने सूचनापछि सचिव राउतमाथि प्रहरीले बढाएको थियो निगरानी

बुवा विरामी भनेर लिएका थिए मन्त्रालयमा बिदा
मुलुक छोड्ने सूचनापछि सचिव राउतमाथि प्रहरीले बढाएको थियो निगरानी

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८० आइतबार १८:२४, काठमाडौँ

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले देश छोड्न लागेको प्रहरीले विशेष सूचना पायो।

प्रहरी महानिरिक्षक वसन्त कुँवरमार्फत उक्त सूचना गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष पुर्‍याइयो।

गृहमन्त्री श्रेष्ठले राउतलाई तत्काल पक्राउ नगरी केही समय ‘होल्ड’ गर्न प्रहरीलाई निर्देशन दिए।

त्यसपछि ललिता निवास प्रकरणमा यसअघि ११ जनालाई पक्राउ गरिसकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सक्रिय बनाइयो।

सीआईबीले यो प्रकरणमा असार दोस्रो साता भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहसहित ११ जनालाई समातिसकेको थियो। 

उक्त प्रकरणमा मुछिएका अन्य बहालवाल र भूतपूर्व कर्मचारी तथा मन्त्रीहरुमाथिसमेत निगरानी गरिरहेको सीआईबीले आइतबार राउत त्रिभुवन विमानस्थल पुगेको देख्यो।

सीआईबीको टोलीले मन्त्री श्रेष्ठ र आइजी कुँवरको निर्देशन कुर्‍यो। दुवैजनाबाट सुरुमा सबै विवरण संकलन गर्न आदेश भयो।

त्यहीक्रममा राउत विराटनगरबाट भारत हुँदै तेस्रो देश छिर्न लागेको सूचना प्रहरीले पायो।

‘विराटनगर हुँदै उहाँ मुलुक छोड्ने योजनामा रहेको पुष्टि भयो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘विराटनगर उत्रिने र त्यहीँबाट सडकमार्ग हुँदै जोगवनीबाट तेस्रो देश जान खोज्नुभएको रहेछ।’

‘यो जानकारी गृहमन्त्रीलाई ब्रिफिङ भयो, उहाँले कानुनवमोजिम गर्नू’ भन्ने निर्देशन दिनुभयो,’ स्रोतले थप्यो, ‘त्यसपछि केही बेरमै सिआइवीको टोलीले एयरपोर्टबाटै पक्राउ गर्न सफल भयो।’

उनलाई पक्राउ गर्न प्रहरीले पहिले नै पक्राउ पूर्जी लिइसकेको थियो। 

वि.सं. २०६६/०६७ ताका राउत भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत थिए।

त्यही समय ललिता निवासको जग्गा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा राउतले टिप्पणी उठाएका थिए।

उनी ललिता निवास प्रकरणमा पक्राउ पर्ने सूचना पाएपछि सञ्चार मन्त्रालयमा बुवा विरामी भनेर बिदा स्वीकृत गराएका खुलेको छ।

बुवा विरामी भएकोले भेट्न जान लागेको जानकारी उनले सञ्चारमन्त्री रेखा शर्मालाई समेत गराएका थिए। 

आइतबार उनी विरामी बुवालाई भेट्न जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित उड्न लागेको विमानभित्रैबाट पक्राउ परेका छन्।

‘उहाँले (सचिव) बुवा विरामी भएर भेट्न जान लागेको भन्दै बिदा स्वकृत गराउनुभएको छ,’ सञ्चार मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। 

तर, राउतले कति दिन बिदा लिए भन्ने मन्त्रालयले केही खुलाएको छैन।

यसैबीच सचिव राउत पक्राउ परेको जानकारी गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन्।

आइतबार मिटरब्याजीहरुसँग छलफलपछि बालुवाटार पुगेका उनले सचिव राउत पक्राउ परेको ब्रिफिङ प्रधानमन्त्रीलाई गराएका हुन्। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .