म्यागेजिन


कुलेखानीमा जापानी इन्जिनियरको मिहिनेत हेर्दै हुर्किए, अहिले बुन्दैछन् हजार मेगावाटका आयोजनाको योजना

उत्तम लामा भन्छन्— नेपालको गेमचेन्जर इन्डस्ट्री हाइड्रो नै हो, अब भारत निर्यात पनि निजी क्षेत्रले नै गर्नुपर्छ
कुलेखानीमा जापानी इन्जिनियरको मिहिनेत हेर्दै हुर्किए, अहिले बुन्दैछन् हजार मेगावाटका आयोजनाको योजना

उन्नत सापकोटा
जेठ २६, २०८३ मंगलबार १२:१२, काठमाडौँ

कक्षा सातमा पढ्दैदेखि उत्तम भ्लोन लामाको जीवनमा पढाइभन्दा जिम्मेवारी ठूलो थियो। परिवारको आर्थिक अवस्था कमजोर त थिएन, तर सहज पनि थिएन। खर्च धान्नै मुस्किल पर्ने अवस्थामा उनले सानै उमेरदेखि काम गर्न थाले। 

एसएलसी पास गरेर काठमाडौँ पस्दै गर्दा उनको सपना थियो– इन्जिनियर बन्ने। तर, परिवारसँग उनको सपना धानिदिने हैसियत थिएन। त्यसैले उनी पाटन क्याम्पसमा आईकममा भर्ना भए।

छ–सात कक्षामा पढ्दैदेखि घरको काममा अभ्यस्त थिए। तर, काठमाडौँमा जीवन चलाउन अलग्गै कठिनाइ थियो। त्यही भएर उनी जिन्दगीको असली पाठ कक्षाकोठाबाहिर सिकिरहेका थिए। बिहान क्याम्पस, दिनभरि जागिरबाट राति अबेर घर फर्किंदा किताब खोल्ने ऊर्जा बाँकी रहँदैनथ्यो।

जीवन धान्नका लागि उनले पत्रकारिता गरे, मार्केटिङ गरे, विज्ञापन एजेन्सीमा काम गरे र एकै समयमा विभिन्न कम्पनीमा पार्टटाइम जागिर पनि खाए। एक समय यस्तो आयो, जब उनी आफ्नै शब्दमा ‘दिनको २२ घण्टा अरूलाई बेचिरहेका’ थिए। तर, जागिरले न त आर्थिक स्वतन्त्रता दियो, न त आफूले गर्न चाहेको कामको सन्तुष्टि नै। 

‘काम त गरेँ। तर, कताकता अपुरो जस्तो अनुभूति भयो। म विज्ञापन एजेन्सी प्रिज्मामा पनि जागिर खान्थेँ। अन्तिम प्रोजेक्टको रूपमा एनसेल रिब्रान्डिङ थियो। काम गर्दा आएको तलबले आफ्नो खर्च नै नपुग्ने। मेहनत जति गरे पनि कम देखिने। समातेर राखेको जस्तो अनुभव हुन्थ्यो,’ उत्तमले सम्झिए। 

यही बेचैनीले उनलाई उद्यमशीलताको बाटोमा धकेल्यो। माइक्रोफाइनान्सको लाइसेन्सदेखि निर्माण व्यवसायसम्म हात हालेपछि उनी जलविद्युत् क्षेत्रमा प्रवेश गरे- त्यही क्षेत्रमा, जससँग उनको बाल्यकालको सपना जोडिएको थियो।

‘मैले त्यतिबेला आफ्नो २२ घण्टा समय विभिन्न कम्पनीहरूलाई बेचिसकेको थिएँ। जागिर खाएर मात्रै खर्च नपुग्ने भयो भनेपछि एनएमबि माइक्रो फाइनान्सको लाइसेन्सका लागि प्रक्रिया अघि बढाइसकेको थिएँ। १७ महिनासम्म लाग्यो लाइसेन्स पाउन। माइक्रो फाइनान्स मेरो ब्रेनचाइल्ड हो। १९ प्रतिशत स्वामित्व मेरो छ, ५१ प्रतिशत बैंक र ३० प्रतिशत सर्वसाधारणको हिस्सा छ,’ उत्तमले भने।

मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनामा जापानी इन्जिनियरहरूको गतिविधि हेर्दै हुर्किएका उत्तमले इन्जिनियरिङ पढ्न पाएनन्, तर हाइड्रो बनाउने सपना भने कहिल्यै त्यागेनन्। राधी जलविद्युत् परियोजनाबाट सुरु भएको उनको ऊर्जा उद्यमको यात्रा आज सयौँ मेगावाटका जलविद्युत् र सौर्य ऊर्जा परियोजनासम्म फैलिएको छ। 

ऊर्जा नै नेपालको भविष्य हो भन्ने विश्वास बोकेका उनी अबको दशकलाई पूर्ण रूपमा यही क्षेत्रमा समर्पित गर्ने योजनामा छन्। अब उनको एउटै धोको छ– यो जीवनमा हजार मेगावाटमाथिको जलविद्युत् बनाउने।

अनि छिरे निर्माण क्षेत्रमा
उत्तम आफ्नो अंकलको सहायतामा पहिलो पटक निर्माण क्षेत्र प्रवेश गरेका थिए। अंकल श्याम लामाको दुर्घटना भएपछि उत्तमले निर्माणसम्बन्धी काम हेर्न थालेका थिए। माइक्रो फाइनान्सको लाइसेन्स पनि पाएको र निर्माण कम्पनी पनि हेर्नुपर्ने स्थितिमा उत्तम पुगे। 

उनले लाइसेन्स हात पारेको माइक्रोफाइनान्स तत्कालीन क्लिन इनर्जी बैंकसँग जोडिएको थियो। क्लिन इनर्जी बैंक जलविद्युत् क्षेत्रमा पायोनियर वित्तीय संस्था थियो। हालको सीईडीबी होल्डिङ्स लिमिटेड (सीएचडीसी) को एउटा स्किम त्यतिबेला ल्याएको थियो। ‘आज पैसा जम्मा गर्ने कि, ५ वर्षमा दोब्बर पैसा दिने’ भनेर पैसालाई सेयरमा परिवर्तन गर्ने स्किम थियो त्यो।

‘मसहितका साथीहरूले यही स्किम अनुसार अलिअलि डिपोजिट राखेर सेयर पायौँ। दोब्बर पैसा त भएन। त्यसैले हामीले कम्पनीमा रूपान्तरण गर्दै आफ्नो पैसालाई सेयरको रूपमा लियौँ। त्यो कम्पनीको सेयर पायौँ। त्यो कम्पनीको प्रारम्भिक आइडिया त खासमा जलविद्युत् परियोजनाबारे अध्ययन गर्ने र निर्माणका लागि सबै तयारी पूरा गरेर डेभलपरहरूलाई बेच्ने भन्ने थियो। तर, राम्रो प्रोजेक्ट नै नपाउने देखियो। अध्ययन गर्नै धेरै खर्च हुने र त्यो तिर्न पनि नचाहने चुनौती देखियो। यो मोडल चलेन,’ उत्तमले थपे, ‘अनि आफैँ परियोजना विकास गर्नुपर्ने रहेछ भन्ने भयो। अनि राधी, युनिभर्सल, दोर्दीलगायतका जलविद्युत् परियोजना निर्माण भए।’

राधीबाट जलविद्युतमा प्रवेश
उत्तमको पहिलो जलविद्युत् परियोजना हो राधी। जलविद्युतमा काम कहिल्यै नगरे पनि अध्ययन र रुचि उनमा थियो। मकवानपुरको कुलेखानी मार्खुमा जन्मिएका हुन् उत्तम। कुलेखानी देशकै महत्त्वपूर्ण जलाशययुक्त जलविद्युत परियोजना हो। कुलेखानी जलविद्युत परियोजना निर्माणका क्रममा त्यहाँ कार्यरत जापानी इन्जिनियरहरूले चढ्ने टोयोटा पिकअप चढ्दाको अनुभवले नै उत्तमलाई हाइड्रोप्रति लोभ्यायो।

यही अनुभवले उत्तमलाई इन्जिनियर बन्नुपर्छ, हाइड्रो बनाउनुपर्छ भन्ने चेत पलाएको थियो। तर, उनले इन्जिनियरिङ भने पढ्न पाएनन्। इन्जिनियर बनेर हाइड्रोमा काम गर्ने रहर पूरा नभए पनि माइक्रो फाइनान्सको लाइसेन्स पाएर क्लिन इनर्जी बैंकको स्किममार्फत हाइड्रोको सेयरधनी बन्न भने उत्तम सफल भए।

राधी जलविद्युत् आयोजना निर्माण गर्ने विषयमा स्थानीयस्तरमा धेरै समस्या थिए। समुदायस्तरमा रहेका समस्या समाधान गर्न उत्तम आफैँ सक्रिय भएर लागेका थिए। 

‘पछि मलाई पूर्णकालीन रूपमै यो परियोजना निर्माणमा आउनुपर्छ भनेर अनुरोध भयो। पछि मैले आफूसँग भएबाहेकको सीएचडीसीको थप सेयर पनि किनेँ। ४.४ मेगावाटको राधी जलविद्युतमा म फुल टाइम इन्गेज भएँ। यो परियोजना १३.७ करोड रूपैयाँ प्रतिमेगावाट लागतमा निर्माण हुने आजको दिनसम्मकै सबैभन्दा सस्तो प्रोजेक्ट हो। यो परियोजना करिब १० वर्षअघि झण्डै १९ महिनाभित्र निर्माण भएको थियो। आजको दिनमा सबैभन्दा बढी प्रतिफल दिने हाइड्रोपावर कम्पनी हो। स्थानीय समस्या धेरै भएन, यो प्रोजेक्ट हेडहाइ भएकाले लागत कम पर्‍यो। निकै छिटो सम्पन्न भएकाले खर्च बढ्न पाएन,’ उत्तमले भने।

राधीपछि उत्तम युनिभर्सल पावर कम्पनीमार्फत दोलखामा ११ मेगावाटको तल्लो खरे खोला जलविद्युत् निर्माणमा होमिए। यो परियोजना एकदमै चुनौतीपूर्ण मानिन्थ्यो। उनी यो परियोजनाको सुरुआती चरणदेखि नै आफैँ पूर्णकालीन रूपमा संलग्न भए। त्यसपछि दोर्दी, रुकुमगढ जलविद्युत् परियोजना पनि उनले सम्पन्न गरेका छन्। बुटवल पावर कम्पनीसँगको सहकार्यमा ३० मेगावाटको न्यादी र खुदी जलविद्युतमा उनी संलग्न भएर काम गरिसकेका छन्। आजको जस्तो अनुकूल बजार नहुँदा उत्तमले केही जलविद्युत् परियोजना अरु नै कम्पनीलाई दिए।

‘कुनै बेला आईपीओ पनि नबिक्ने अवस्था थियो। वित्तीय व्यवस्थापन एकदमै ठुलो चुनौती थियो। सात वर्षअघिको समयमा हेर्नु भयो भने हामीले धेरै राम्रो राम्रो प्रोजेक्टहरू छोड्यौँ। नारखोला, भाबिल, होङ्गुलगायतका प्रोजेक्ट नै छोडिदियौँ। यसको सर्भे लाइसेन्स लिएका थियौँ। तर, छोड्नु पर्‍यो। लाइसेन्स लिएर काम गर्न सकेनौँ भने धरौटी नै जाला भन्ने डरले प्रोजेक्ट छोड्नु पर्‍यो। आर्थिक पाटो जुटाउन निकै गाह्रो थियो। आजको दिनमा हामीसँगै भएको भए सम्पन्न गर्ने अवस्थामा पुर्‍याउँथ्यौँ। अहिले साथीहरूले हामीबाट लिएर यी जलविद्युत् परियोजनाहरू बनाइरहनु भएको छ,’ उनले भने।

हाल उत्तमका दुईवटा जलविद्युत परियोजना निर्माण भइरहेका छन्। एउटा ५० मेगावाटको कसुवा खोला, अर्को ४७ मेगावाटको छुजुङ जलविद्युत्। उत्तमले यी दुई परियोजनाबाट उत्पादित बिजुलीलाई भारत निर्यात गर्न सक्ने गरी व्यवस्थापन गरिरहेका छन्। त्यसैगरी, अर्को झण्डै ९० मेगावाटका तीन वटा परियोजना अध्ययनको चरणमा छन्। इङ्खु १, २ र अर्को एउटा परियोजना अध्ययनको क्रममा छन्। यी परियोजना ३०, ३५ र २५ मेगावाट क्षमताका हुन्। झण्डै २०० मेगावाटको सुपर हुम्ला कर्णाली परियोजना पनि उनको पोर्टफोलियोमा छ। यस्तै, २३० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना उत्तमकै कम्पनीले नेतृत्व गरिरहेको छ। 

‘सोलारमा चाहिँ हामी नम्बर वान नै हौँ,’ उनले भने।

‘१०–१५ वर्ष ऊर्जाबाहेक अरु क्षेत्रमा धेरै संलग्न हुन्न’ 
उनको बाग्लुङमा ७०० रोपनीमा चिया खेती छ। उनले उत्पादन गरिरहेको प्रिमियम गुणस्तरको चिया नेपालबाट निर्यात गरिरहेका छन्। उनको लगानी अलैँची खेतीमा पनि छ। ६०० रोपनी क्षेत्रफलमा उनले अलैँची खेती लगाएका छन्। त्यसैगरी, वर्तमान सांसद तथा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठसँगको साझेदारीमा उत्तमले माकुसे ब्रान्डमा पुस्टकारी उत्पादन तथा बिक्री गर्दै आएको छन्। उनी ट्रेडिङ, निर्माण व्यवसायमा पनि संलग्न छन्।

त्यसैगरी, घरजग्गा (हाउजिङ, अपार्टमेन्ट) निर्माणमा पनि उत्तम संलग्न छन्। उत्तमको कम्पनीले बत्तिसपुतली र भैँसेपाटीमा गरेर दुई वटा अपार्टमेन्ट निर्माण गर्दैछ। दुई अपार्टमेन्टमा ५०–५० युनिट बन्दैछ। गोदावरी र बुङमतीमा हाउजिङ पारियोजना बन्दैछन्। हाउजिङहरू ३० रोपनी र १५० रोपनीमा फैलिनेछन्। यी व्यवसायहरूमा उत्तम अहिले प्रत्यक्ष संलग्न छैनन्। अरुलाई जिम्मा लगाएर आफू भने ऊर्जामा केन्द्रित भएका छन्।

उत्तमले अबको १० देखि १५ वर्षसम्म ऊर्जाबाहेक अरु व्यवसायमा संलग्न नहुने सोच बनाएका छन्।

‘म अहिले हाइड्रो, सोलार, बैंक, माइक्रोफाइनान्स र एउटा पाँचतारे होटल आउँदैछ त्यसमा अलि बढी इन्भल्भ छु। मुख्यगरी अबको १० देखि १५ वर्ष विशुद्ध ऊर्जा क्षेत्रमा लाग्दैछु। नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) को बोर्डमा छु। यसले नेपालबाट विदेशमा कसरी ऊर्जा निर्यात गर्ने भन्नेमा काम गर्छ। यो कम्पनीको चुक्ता पुँजी साढे २०० करोड छ। अब यो कम्पनी सेटअप गरेर विगत ५–७ वर्षदेखि लाइसेन्स मागिरहेका छौँ। यसपालि पाइएला भन्ने आश छ। इनर्जी र यससँग सम्बन्धित अरु व्यवसायमा लाग्नेछु,’ उत्तमले भने।

चार अंकको हाइड्रो बनाउने धोको
यदि ऊर्जा विकासका लागि सबै वातावरण राम्रो भयो भने चार अंकको जलविद्युत् निर्माण गर्ने उनको धोको छ।

‘अब यो सम्भव होला नहोला, त्यो फरक कथा हो। अरुणको स्तरको जस्तो १ हजार मेगावाटभन्दा बढीको जलविद्युत परियोजना बनाउने सपना छ। अहिले तुरुन्त कुनै त्यस्तो प्रोजेक्ट लिएर त नसकिएला। तर, १० देखि १५ वर्षको प्लान अनुसार त्यति गरेर मर्न पाए हुन्थ्यो भन्ने सपना छ,’ उत्तमले भने।

सजिलै अर्बौँको व्यापार गर्न सक्ने र काम गर्न सक्ने क्षेत्र हाइड्रो भएको दाबी गर्छन् उत्तम। ठूलो भोल्युमको बिजनेस गर्नुपर्छ भन्नेमा उनी स्पष्ट सुनिन्छन्। त्यसैले त उनी रियल इस्टेटमा पनि जोडिएका छन्। सानो भोल्युमको व्यापारमा उनको आँखै लाग्दैन। 

‘मैले त १० करोड लगानी गरेर होटल खोलेँ नि भन्नु भयो भने ओहो १० करोड, डुब्ला है डुब्ला भाइ भन्छन्,’ उत्तमले थपे, ‘नेपालीहरूको मनस्थिति नै सानो छ। सानो घर, सानो सडक, सानो गाडी, सानो एयरपोर्ट, सानो देश, सबकुरो सानो। इक्विटी पनि भर्खर बन्दैछ। सबैकुरा सानो र सुरुवाती छ। नेपालमा एकदमै ठूलो र दीर्घकालीनरूपमा गर्न सक्ने भनेको जलविद्युत् नै हो। गेमचेन्जर इन्डस्ट्री के त भन्दा नेपालको लागि हाइड्रो नै हो। आन्दानीदेखि रोजगारी अधिक सिर्जना हुन्छ।’

ऊर्जाका लागि बजार पर्याप्त रहेको उनी बताउँछन्।

‘एक लाख मेगावाट बन्यो भने पनि भारतसँग राम्रो सम्बन्ध बनायो भने त सजिलै निर्यात हुन्छ। अरु देश जानै पर्दैन। भारतको माग ५ लाख मेगावाट छ। देशभित्रैको माग पनि १० हजार मेगावाट बन्यो भने बजार प्रशस्त छ। बिजुली व्यापारलाई विशुद्ध कमोडिटीको रूपमा लिनुपर्छ,’ उनले भने।

बिजुली उत्पादन अधिक गर्न सके सीमावर्ती क्षेत्रमा विद्युत् खपत धेरै गर्ने ठूलाठूला मेल्टिङ प्लान्ट उद्योगदेखि अरु खुल्ने सम्भावना रहन्छ। नेपालको बिजुली सस्तो पनि भएकाले यस्ता उद्योग सीमावर्ती क्षेत्रमा खुल्न सक्ने सम्भावना उत्तम देख्छन्। क्लाउड कम्प्युटिङ, मल कारखानादेखि डेटा सेन्टर नेपालमा बिजुलीकै कारण स्थापना हुन सक्ने देखिन्छ। रोजगारी सिर्जना, आयवृद्धि, आयात प्रतिस्थापनदेखि निर्यात गराउन ऊर्जाले ठूलो भूमिका खेल्न सक्छ।  

‘बिजुलीमा नेपालका लागि सबैभन्दा बढी कम्पिटेटिभ एड्भान्टेज छ। बिजुलीका लागि कच्चा पदार्थ भनेको पानी हो, त्यो सहजै पाइन्छ। त्यसैले जलविद्युतलाई उपयोग गर्ने सवालमा सरकारले पहिलो प्राथमिकता दिनुपर्छ,’ उत्तमले भने।

ऊर्जा उद्यमीहरूको हितमा लाग्ने वाचा
उत्तम स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को वर्तमान उपाध्यक्ष हुन्। आगामी जेठ २९ गते इप्पानको वार्षिक साधारण सभामार्फत नयाँ नेतृत्व चयन हुँदैछ। उत्तमले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। इप्पानको विद्यमान विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान छ। 

उत्तमको नेतृत्वमा रहेको टिमले विद्युत् खरिद सम्झौता (पीपीए) मा सुधारलाई मुख्य मुद्दा बनाएको छ। पीपीएमा अवरोधको साटो प्रोत्साहन र सुनिश्चितताका लागि आफू लाग्ने उत्तमले बताए।

‘नीतिगत तथा कानुनी सुधार, नीतिमा स्पष्टता, कार्यान्वयनमा एकरूपता। लगानी तथा वित्तीय सुधार, ऊर्जा क्षेत्रमा लगानी, राष्ट्रिय लगानी प्राथमिकता रहनेछ। प्रसारण तथा पूर्वाधार निर्माणमा तीव्रता, प्रसारण लाइनको सवलता, खपत र निर्यातमा व्यापकता, खपतमा जोड र निर्यातमा ध्यान दिने ऊर्जा विकास प्राथमिकतामा रहनेछ,’ उत्तमले थपे, ‘वन तथा वातावरण प्रक्रियामा सरलता, इप्पानलाई नीति अनुसन्धान केन्द्र बनाउने तथा चुस्त र सक्षम इप्पान व्यवस्थापन एवं कार्यालय हाम्रो एजेन्डा हुन्।’    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad