काठमाडौँ उपत्यकामा गएरातिदेखि नै मौसम बदली र वर्षा भइरहेको छ।
तर अहिले (बुधबार बिहान करिब ७ बजे) भने काठमाडौँ उपत्यकामा वर्षा रोकिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।
‘विगत ३ घण्टाको कुरा गर्दा काठमाडौँ उपत्यकाका धेरैजसो स्थानमा हल्का वर्षा भएको छ’, उनले नेपालखबरसँग भने, ‘अझै बादल लागिरहेकाले थप वर्षाको सम्भावना छ।’
मौसमविद् दाहालका अनुसार केही समयपछि नै काठमाडौँ उपत्यकामा क्षणिक र हल्का वर्षा हुने सम्भावना छ।
‘तत्काललाई त्यस्तो ठुलो वर्षाको सम्भावना देखिएको छैन’, उनले भने, ‘तर अपराह्न वा साँझपख भने मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
मौसमविद् दाहालका अनुसार आज दिनभर काठमाडौँ उपत्यकामा मौसम बदली भइरहने सम्भावना छ।
‘बिचमा केही बेर खुलेजस्तो भए पनि फेरि बादल लाग्ने सम्भावना देखिएको छ आजलाई’, उनले भने।
देशभरको मौसम र वर्षाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अध्यावधिक विस्तृत बुलेटिन जारी गर्नेछ।
Shares

प्रतिक्रिया