ad ad

समाज


चिनियाँ जनमुक्ति सेनाको तर्फबाट वीरेन्द्र अस्पताललाई एमआरआई मेशिन प्रदान

चिनियाँ जनमुक्ति सेनाको तर्फबाट वीरेन्द्र अस्पताललाई एमआरआई मेशिन प्रदान

नेपालखबर
जेठ ३, २०८० बुधबार २१:४०, काठमाडौँ

छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा अत्याधुनिक एमआरआई (म्याग्नेटिक रिसोनेन्स इमेजिन) मेशिन जडान भएको छ।

एमआरआई मेशिन जनवादी गणतन्त्र चीन सरकारबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त भएको हो ।

मेशिन औपचारिक रुपमा हस्तान्तरणका लागि आयोजित समारोहमा नेपालका लागि चीनका राजदूत चेन सोङ र प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले एमआरआई मेशिन जडित कक्षको संयुक्त रुपमा उद्‍घाटन गरे।

यसबाट नेपाली सेनामा प्रविधिमा आधारित स्वास्थ्य उपचार सुविधाको विस्तारमा ठूलो उपलब्धि हासिल भएको नेपाली सेनाले जनाएको छ।

समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रमा पुर्‍याएको योगदानका लागि चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाप्रति नेपाली सेनाको तर्फबाट आभार प्रकट गरे।

नेपाली जनता तथा चिनियाँ जनताहरु बीच रहँदै आएको युगौं पुरानो सुमधुर सम्बन्धका बारेमा उल्लेख गर्नुहुँदै प्रधान सेनापतिले सन् २०१५ को विनासकारी भुकम्प पश्चातको उद्धार तथा पुनर्निर्माण प्रयासहरुका साथै कोभिड–१९ महामारी विरुद्धका प्रयासहरुमा चीनबाट प्राप्त सहयोग नेपाली जनता तथा नेपाली सेनाका लागि स्मरणीय रहने कुरा बताए।

कार्यक्रममा आफ्नो मन्तव्य राख्‍दै चिनियाँ राजदूत सोङले नेपाल चीनको एक असल छिमेकीका रुपमा रहि आएको कुरा बताउँदै नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रको सुधारमा सहयोग गर्न पाएकोमा प्रशन्‍नता व्यक्त गरे।

उनले दुई देशका जनता तथा सरकारहरु बीचको सम्बन्ध सुमधुर रहेको तथा भविष्यमा पनि रहिरहने विश्वास समेत व्यक्त गरे।    

वीरेन्द्र अस्पतालमा आज आयोजित कार्यक्रममा बलाधिकृत रथी, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु लगायत चिनियाँ राजदूतावासका पदाधिकारी एवं चिनियाँ सैनिक सहचारीको उपस्थिती रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .