समाज


१० रुपैयाँमा खान पाइन्छ पेटभरि बासमती चामलको भात!

१० रुपैयाँमा खान पाइन्छ पेटभरि बासमती चामलको भात!

नेपालखबर
पुस १७, २०७६ बिहिबार ६:१३,

विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ। स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई १० रुपैयामै पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो। काली मन्दिर अगाडिबाट सुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताए।

बासमती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ। एक मानिसले खाना खाँदा १० रुपैयाँ तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा २० रुपैयाँ तिर्नुपर्ने हुन्छ। कसैले भिखारी वा गरिब मानिसलाई खाना खुवाउन चाहेमा उसले जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ। अभियान शुरु भएको आज १० दिन भएको भन्दै धाडेवालले दैनिक ७०० देखि एक हजार जनासम्मले खाना खाने गरेको बताए।

क्याटरिङ सहयोगी तिरुपति क्याटरिङमार्फत खाना खुवाउने अभियान स्थानीय नन्दु तपडिया, युवा उमेश यादव र मोहम्मद कादिरले पनि सहयोग गरिरहेका छन्। ‘दिनको करिब रु १७ हजार खर्च हुन्छ’, अभियानकर्मी धाडेवालले भने, ‘यो अभियान अब सधैँ रहन्छ, यसका लागि सहयोगीले नाम लेखाइसकेका छन्।’ एक जना सहयोगीले एक दिनको जिम्मा लिएका छन्। यसबाट यो अभियान सञ्चालन गर्न कुनै कठिनाइ नहुने धाडेवालको जिकिर छ। ‘वर्षमा ३६५ दिनका लागि ३६५ जना नै सहयोग गर्न तयार छन् अब कसैले सहयोग गर्न चाहेमा अर्को वर्षका लागि ती मानिसको नाम दर्ता हुनेछ र सोहीअनुसार अभियानलाई कायम राखिने छ’, उनले भने।

सस्तोमा खाना खुवाउन सुरु गरेपछि विपन्न मानिस मात्र होइन सम्पन्न मानिसले पनि खाना खाने गरेको र कसैले आफूले खाएको तोकिएको रकमभन्दा बढी दिन खोजेमा सहयोगी पेटिकामा राख्ने गरिएको उनको भनाइ छ।
–––

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad