समाज


पृथ्वीनारायण शाह गोरखाबाट काठमाडौँ आएको बाटोमा ‘एकीकरण टर्च र्‍याली’ गरिने

पृथ्वीनारायण शाह गोरखाबाट काठमाडौँ आएको बाटोमा ‘एकीकरण टर्च र्‍याली’ गरिने

नेपालखबर
पुस १७, २०७६ बिहिबार ५:५७,

पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप उनीसहित गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च र्‍याली’ गरिने भएको छ।

नेपाली सेनाको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको लागि सुरु गरेको अभियानअन्तर्गत भोलि शुक्रबार गोरखा दरबारबाट ‘एकीकरण टर्च र्‍याली’ सुरु गर्न लागिएको हो। गोरखा दरबारबाट सुरु हुने ‘एकीकरण टर्च र्‍याली’ बोर्लाङ, सल्यानटार, हासेपसल, चरंगे, तबइभार हुँदै नुवाकोटको सामरीमा यही पुस २० गते आइपुग्ने जबरजंग गण नुवाकोटका गणपति उदयबहादुर लामिछानेले जानकारी दिए।

उनका अनुसार पुस २० गते सामरीभञ्ज्याङमा विशेष कार्यक्रम गरेर पुनः नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै म्यागङ मैदान, भैरमकोट, शुभघाट, केउरिनी चौतारो हुँदै आइतबार राति पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको नुवाकोटस्थित सात तले दरबारमा ‘एकीकरण टर्च र्‍याली’ आइपुग्ने कार्यतालिका छ।

नुवाकोट दरबार परिसरमा पुस २१ मा विशेष कार्यक्रम गरेर अघि बढ्ने ‘एकीकरण टर्च र्‍याली’ धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै काठमाडौँस्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुराएर त्यहाँ विशेष कार्यक्रम गरी उक्त र्‍यालीको समापन गरिने कार्यतालिका छ।

‘गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च र्‍याली’मार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ’, जबरजंग गणका गणपति लामिछानले भने, ‘‘एकीकरण टर्च र्‍याली’मा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिने हुँदा नेपाल एकीकरणको स्मरण गराई अहिलेका युवा पिँढीलाई देशभक्तिको भावना जगाएर राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।’

गोरखा दरबारबाट सुरु भएर धादिङ, नुवाकोट हुँदै काठमाडौँसम्म पुग्ने ‘एकीकरण टर्च र्‍याली’ले आसन्न पृथ्वीजयन्तीप्रतिको सम्मान र बुधबारदेखि सुरु भएको नेपाल भ्रमण वर्षका लागि नेपाल एकीकरण पदमार्गमा पर्यटन भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad