राजनीति


रास्वपाको समानुपातिक सूचीबाट अभिनेता आशिफको नाम फिर्ता, काठमाडौँ-५ मा प्रत्यक्ष उठ्ने घोषणा

अन्य साथीलाई पनि समानुपातिक उम्मेदवारी फिर्ता लिन आग्रह
रास्वपाको समानुपातिक सूचीबाट अभिनेता आशिफको नाम फिर्ता, काठमाडौँ-५ मा प्रत्यक्ष उठ्ने घोषणा

अभिनेता आशिफ साह


नेपालखबर
पुस १९, २०८२ शनिबार ९:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट समानुपातिक उम्मेदवार बनेका अभिनेता आशिफ साहले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। 

जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सांसद नबन्ने उल्लेख गर्दै उनले अब प्रत्यक्षतर्फ उम्मेदवार बन्ने बताएका छन्। 

‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु’, शनिबार बिहानै सामाजिक सञ्जालमार्फत अभिनेता आशिफले भनेका छन्, ‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ-  प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ, उठ्ने नै हो। हामी काठमाडौँ-५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ।’

साथै उनले समानुपातिक सूचीमा रहेका अन्य साथीलाई पनि जनआवाजको सम्मान गर्दै नाम फिर्ता लिन आग्रह गरेका छन्। 

‘साथै जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आआफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु’, उनले लेखेका छन्।  

यस्तो छ उनको पूरा भनाइ

उम्मेदवारी फिर्ता लिएकोबारे

राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति हुँ म।

तर देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मेरो मनभित्र जीवित छ।

आम जनताको चाहनाअनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्यांकन गर्ने साथीहरू यसका साक्षी छन्। त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई सांसद बन्नुपर्छ भन्दै सूचीमा नाम समावेश गर्नुभयो।

म राजनीतिमा यदि आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर स्पष्ट रूपमा भनेको थिएँ। तर साथीहरूको सुझाव थियो- देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले अहिले समानुपातिक प्रणालीमै अघि बढ्नुपर्छ। त्यसैअनुरूप समानुपातिक प्रणालीअन्तर्गत मेरो उम्मेदवारी दर्ता भयो।

तर त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो। सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो।

देश निर्माणका लागि आवश्यक योगदान म जुनसुकै पद वा हैसियतमा रहे पनि सधैँ गर्न तयार छु।

तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।

यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।

साथै जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आआफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु।

प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ- प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ उठ्ने नै हो।

हामी काठमाडौँ-५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ।

देशभन्दा ठूलो केही हुँदैन।’

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले आशिफसहित कलाकारिता क्षेत्रका ७ सेलेब्रिटीलाई समानुपातिक उम्मेदवार बनाएको थियो। तर यसप्रति पार्टीभित्रै र बाहिर पनि असन्तुष्टि प्रकट भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad