राजनीति


परराष्ट्रमन्त्रीले भारतमा सीमा विवादको उच्चारण नै गर्नु भएन, चीन जाँदा सच्याउन्: खुस्बु ओली

परराष्ट्रमन्त्रीले भारतमा सीमा विवादको उच्चारण नै गर्नु भएन, चीन जाँदा सच्याउन्: खुस्बु ओली

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १३:६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणको क्रममा सीमा विवादको उच्चारणै नगरेको भन्दै असन्तुष्टि जनाएकी छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा राप्रपाकी सचेतकसमेत रहेकी ओलीले नेपालको प्रेस नोटबाट सीमा समस्याको विषय नै गायब पारिएको बताइन्।

‘दिल्ली भ्रमणका क्रममा भएका भेटवार्तामा परराष्ट्रमन्त्रीले कतै पनि सीमाको विषय उठाउनु भएन,’ उनले भनिन्, ‘काठमाडौँबाट दिल्ली जाँदा पछि बोल्छु भन्नुभएको थियो। तर दिल्लीको औपचारिक वार्तामा कतै सीमाको विषय उठाउनुभएन। नेपाली पक्षले निकालेको प्रेस विज्ञप्तिमा पनि सिमा विवादको एक शब्द छैन।’

उनले भ्रमण सकिएपछि परराष्ट्रमन्त्रीले दिल्लीमा पत्रकारसँग बन्द कोठामा केही कुरा राखेको भए पनि काठमाडौँ फर्केपछि प्रेस नोटमा सीमा विवादबारे एक शब्द पनि उल्लेख नगरिएको बताइन्। 

सीमा समस्या र सीमा व्यवस्थापन फरक विषय भएको चर्चा गर्दै उनले परराष्ट्रमन्त्रीले सीमा विवादलाई छलेर सीमा व्यवस्थापनको मात्रै कुरा गरेको आरोप लगाइन्। 

‘परराष्ट्रमन्त्रीले संसद्‍मा पनि सीमा विवादको विषय नउठाएर सीमा व्यवस्थापनको नियमित काम, जंगेपिलर व्यवस्थापन र बैठकको विषय मात्रै उठाउनुभएको छ,’ उनले भनिन्, ‘सीमा व्यवस्थापन र सीमा विवाद फरक कुरा हुन्। विगत ४ वर्षमा कुनै न कुनै रुपमा नेपालको प्रेस नोटमा सीमाको विषय जहिले पनि रहन्थ्यो  पहिलोपटक प्रेस नोटबाट त्यो हटाइएको छ।’

परराष्ट्रमन्त्री अब चीन जाँदा सशक्तरूपमा लिपुलेक र कालापानी हाम्रो हो भनेर प्रेस नोटमा उल्लेख गर्न उनले सुझाव दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad