कला


यी हुन् रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका ७ सेलेब्रिटी

यी हुन् रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका ७ सेलेब्रिटी

नेपालखबर
पुस १५, २०८२ मंगलबार १२:४६, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार समानुपातिक उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ।

जसमा रास्वपाले नेपाली सेलेब्रिटीहरूलाई उच्च प्राथमिकता दिएको देखिन्छ। उसले कलाक्षेत्रका ७ जना सेलेब्रिटीलाई समानुपातिक उम्मेदवार बनाएको हो। 

गायक प्रकाश सपुतदेखि गायिकाद्वय सत्यकला राई, डा. त्रिशला गुरुङ, अभिनेता आशिफ साह, अभिनेत्री रिमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ र पूर्वमिस्टर नेपाल तथा चिकित्सक डा. रुपक विश्वकर्मा घिमिरे रास्वपाको समानुपातिक सूचीमा परेका हुन्।

खोटाङबाट आदिवासी जनजाति कोटामा समानुपातिक उम्मेदवार बनाइएकी सत्यकलाले ‘तिमी मसँग नबोल्ने अरे’, ‘आइडी कार्डैले’, ‘पूर्वे धरान’लगायत दर्जनौँ चर्चित गीतमा स्वर दिएकी छन्। प्राध्यापकसमेत रहेकी सत्यकला नवल खड्का निर्देशित फिल्म काँडेतारकी निर्मातासमेत हुन्।

पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ पनि समानुपातिक उम्मेदवार बनेकी छन्। उनलाई आदिवासी जनजाती महिला क्लस्टरमा राखिएको छ। सन् २०१९ मा मिस नेपाल बनेकी अनुष्का उद्यमी समेत हुन्। उनले स्थानीय डेजर्ट ब्रान्ड माकुसी चलाउँछिन्।

अभिनेत्री तथा होस्ट रीमा महिला दलित कल्स्टरतर्फ समानुपातिक उम्मेदवार बनेकी हुन्। उनी कुलमान घिसिङको पार्टी उज्यालो नेपालकी केन्द्रीय सदस्य हुन्। तर उक्त पार्टी अब रास्वपामा समाहित भएको छ। 

अभिनेता आशिफ साहलाई रास्वपाले मुस्लिम पुरुष क्लस्टरतर्फ समानुपातिक उम्मेदवार बनाएको हो। निर्देशक र होस्टसमेत रहेका आशिफले २ रुपैयाँ, जन्ते बाख्रोलगायत फिल्म खेलेका छन्।

गायिका तथा चिकित्सक त्रिशला गुरुङलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको छ। उनी आदीबासी जनजातीतर्फको क्लस्टरमा परेकी हुन्। त्रिशला सपना भई आँखामा आउने, प्रितीको फूल, उकाली चढौला, पोहोर साल, तिमीले त होइन् जस्ता कभर गीत गाएर चर्चामा आएकी हुन्। उनले जूनको साथी तारा, न बिर्सी दिनु, कसैले नछोएको, सजाउ माया लगायतका दर्जन बढी गीतमा स्वर दिइसकेकी छिन्।

रास्वपाले गायक प्रकाश सपुतलाई दलित पुरुष क्लस्टरमा समानुपातिक उम्मेदवार बनाएको हो। उनी समानुपातिक सूचीको दुई नम्बरमा छन्। उनका ‘गलबन्दी’, ‘सकम्बरी’, ‘मेरो पनि हैन र यो देश’, ‘बोल माया’लगायत गीत चर्चित छन्।

त्यसो त सपुत गीतकार, संगीतकारसँगै चलचित्र अभिनेता र निर्देशक पनि हुन्। उनले ‘परदेशी २’ बाट डेब्यु गरेका सपुत ‘पूर्णबहादुरको सारंगी’, ‘वसन्त’, ‘सोल्टिनी’लगायत फिल्म खेलेका छन्। यीमध्ये ‘वसन्त’ सपुतकै निर्देशन र लेखनमा बनेको फिल्म हो।

पूर्वमिस्टर नेपाल तथा डा. रूपक घिमिरे छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ हुन्। उनलाई रास्वपाले दलित पुरुष क्लस्टरको नम्बर एकमा राखेको छ। 

दर्जनभन्दा बढी टेलिभिजन विज्ञापनमा खेलिसकेका उनी सन् २०११ मिस्टर नेपाल बनेका थिए। साथै उनी सन् २०१५ मा प्रदर्शन भएको नेपाली चलचित्र ‘चकलेट’का अभिनेता पनि हुन्।

सोमबार राति मात्र रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्रीसमेत रहेका कुलमानबीच राजनीतिक एकताको सहमति भएको हो।

जुन सहमतिअनुसार रविसहित बालेन र कुलमानको तर्फबाट अन्तिम समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad