राजनीति


रास्वपा बागमती: जिल्ला नेतृत्वमा महिला शून्य, प्रदेशमा पनि पुरुषै उम्मेदवार

रास्वपा नेता भन्छन्- महिला नै नेतृत्वमा अघि सर्नु भएन
रास्वपा बागमती: जिल्ला नेतृत्वमा महिला शून्य, प्रदेशमा पनि पुरुषै उम्मेदवार

सुनिता विष्ट
जेठ २९, २०८३ शुक्रबार १३:५९, हेटौंडा

पुराना दलले महिला, युवा तथा सीमान्तकृत समुदायलाई नेतृत्वमा पर्याप्त अवसर दिन नसकेको आरोप लगाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आरोप लगाउँदै आएको छ। तर, भरखरै सम्पन्न रास्वपाको जिल्ला अधिवेशनको परिणाम पनि फरक देखिएको छैन। बागमतीमा प्रदेशमा सम्पन्न जिल्ला अधिवेशनबाट आएको नेतृत्व समावेशी देखिएको छैन। 

बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोकबाहेक १२ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ।  काठमाडौँ, चितवन, दोलखा, धादिङ, सिन्धुली, रसुवा र नुवाकोटमा निर्वाचन प्रक्रियाबाट पदाधिकारीदेखि सदस्यसम्म चयन गरिएको छ। काभ्रे, रामेछाप, ललितपुर, भक्तपुर र मकवानपुरमा भने सर्वसम्मतमा नयाँ कार्यसमिति चयन भएको हो।

रसुवाको जिल्ला अधिवेशनबाट वसन्त भट्ट सभापतिमा निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी सविन सापकोटाले ४१ मत प्राप्त गरेका थिए। रास्वपा नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। चितवनको अधिवेशनबाट इन्जिनियर मिनि माधव खनाल जिल्ला सभापतिमा निर्वाचित भए। 

रास्वपा भक्तपुरको सभापतिमा रामेश्वर बस्नेत निर्विरोध निर्वाचित भए। काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भए। 

त्यस्तै, ललितपुरको सभापतिमा बुद्धरत्न महर्जन, काभ्रेको सभापतिमा प्रवीणकुमार ढकाल, मकवानपुरको सभापतिमा सञ्जीव पाठक, सिन्धुलीको सभापतिमा अविनाश बस्नेत, रामेछापको सभापतिमा रमेशकुमार रायमाझी, धादिङको सभापतिमा राजन अर्याल र दोलखाको सभापतिमा दिनेश बस्नेत निर्वाचित भए। 

जिल्लामा मात्रै होइन, बागमती प्रदेशको प्रथम अधिवेशनमा पनि प्रदेश सभापति पदका लागि दर्ता भएका उम्मेदवारको सूचीमा कुनै महिला छैनन्। प्रदेश सभापतिका लागि निवर्तमान सभापति तथा सांसद डा. अच्युतम लामिछाने, उत्सव अर्याल, हरिप्रसाद खत्री र कृष्णमान शाक्यले उम्मेदवारी दर्ता गरेका छन्। 

रास्वपाले संसद्, सार्वजनिक मञ्च र राजनीतिक बहसमा महिला सहभागिता तथा समावेशी प्रतिनिधित्वको पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ। पार्टीभित्र पनि महिला सांसद र नेतृहरूको उपस्थिति रहेको छ। तर जिल्ला र प्रदेश नेतृत्वमा महिलाको उपस्थिति छैन। 

रास्वपाका नेताहरू भने अवसर दिन खोजिए पनि नेतृत्वका लागि नेत्रीहरू अग्रसर नभएको तर्क गर्छन्। उनीहरूका अनुसार जिल्ला अधिवेशनहरूमा सभापति पदका लागि कुनै महिलाले उम्मेदवारी नदिएकाले पुरुष नेतृत्व चयन भएको हो। 

अधिवेशन सम्पन्न भएको बागमतीको जिल्लाहरु र प्रदेश कमिटीमा पनि महिलाले नेतृत्वको लागि दाबी नै नगरेको रास्वपा बागमती प्रदेशका निर्वतमान सभापति अच्युतम लामिछानेको भनाइ छ। ‘हाम्रो पार्टी समावेशीताको पक्षमा सधैँ गम्भीर भएको पार्टी हो, तर पार्टी नेतृत्वको विषयमा भने पक्कै पनि कमजोर देखिएकै छ,’ लामिछाने भन्छन्, ‘महिलालाई नेतृत्व नदिएको भन्ने चाहिँ हुँदै होइन। बरु उहाँहरू आफै नेतृत्व क्षमतामा अघि नआउनु भएको हो। उपसभापति र सह-सचिवमा भने आकांक्षा देखाउने धेरै हुनुहुन्छ।’

तर राजनीतिक विश्लेषकहरू भने यसलाई केवल महिलाको इच्छाशक्ति वा आकांक्षाको विषय बनाएर हेर्न नमिल्ने बताउँछन्। उनीहरूका अनुसार कुनै पनि संगठनमा महिला नेतृत्व विकास हुन नेतृत्वमा पुग्ने वातावरण, अवसर, प्रशिक्षण, प्रोत्साहन र निर्णय प्रक्रियामा पहुँच महत्त्वपूर्ण हुन्छ। 

यदि महिलाहरू नेतृत्वका लागि अघि बढिरहेका छैनन् भने त्यसको कारण खोज्ने र आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी पार्टीकै हुने मकवानपुरका राजनीतिक विश्लेषक भोजराज ढकाल बताउँछन्।  

नेपालको संविधानले राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्वको सिद्धान्तलाई आत्मसात् गरेको छ। राजनीतिक दलसम्बन्धी कानुन तथा निर्वाचन प्रणालीले समेत महिलाको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेका छन्। यद्यपि, अधिकांश दलमा जस्तै रास्वपाको संगठनात्मक नेतृत्वमा पनि पुरुष वर्चस्व कायम रहेको बागमती प्रदेशमा सम्पन्न जिल्ला अधिवेशनले देखाएको छ। 

बागमती प्रदेशका जिल्ला र प्रदेश नेतृत्वमा महिलाको शून्य उपस्थितिले रास्वपाको समावेशीताप्रतिको प्रतिबद्धतामाथि प्रश्नचिह्न खडा गरेको विश्लेषक ढकालको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad