यौन दुराचारको आरोपमा पक्राउ परेका संघीय प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज जिल्ला अदालत काठमाडौं लगिएको छ। प्रहरीले महरालाई जिल्ला सरकारी वकिलकाे कार्यलयमा थुनछेक बहसपछि अदालत लगेको हो।
महरा गत १९ गते पक्राउ परेका थिए। पक्राउलगत्तै दशैँ विदा भएपछि अदालत बन्द भएका कारण आज मात्रै अदालत लगिएको हो। अदालत सोमबार नै खुलिसकेको छ।
याैन दुराचार अभियाेगमा पक्राउ परेका महरा नर्भिकबाट निस्किँदै। तस्बिरः प्रविन काेइराला
महराविरुद्ध संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि महरा प्रहरी अनुसन्धानमा तानिएका छन्। प्रहरी नियन्त्रणमा रहेका महरा स्वास्थ्यमा समस्या देखिएको भन्दै थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्।
महराले आफूविरुद्ध यौन दुराचारको आरोप सार्वजनिक भएपछि सभामुख पदबाट राजीनामा दिएका थिए। उनलाई सत्तारुढ दल नेकपाले राजीनामा दिन आग्रह गरेको थियो। यद्यपि महराले भने बलात्कार गरेको आरोपको खण्डन गर्दै आएका छन्।
तर उनी आरोपित महिलाको कोठामा गएको सीसीटीभी फुटेजमा देखिएपछि नेकपाले राजीनामा दिन भनेको थियो।

प्रतिक्रिया