राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ सम्मेलन राजधानीमा उद्घाटन गरेकी छिन्। गैरआवासीय नेपालीको नवौँ सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको हो।
सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गैरआवासीय नेपालीहरुलाई आफू जन्मेको भूमिमा लगानी गर्न आह्वान गरेकी छिन्। नेपालमा लगानीको वातावरण बनिरहेको भन्दै उनले गैरआवासीय नेपालीलाई उक्त आग्रह गरेकी हुन्। लगानीको सुरक्षा सरकारले गर्नेमा ढुक्क हुन आग्रह गर्दै उनले आफ्नो सीप र दक्षता नेपालको विकासमा उपयोग गर्नुपर्ने उल्लेख गरिन्।
विश्व सम्मेलन सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ नवौँ सम्मेलन सुरु भएको हो। सम्मेलनले नयाँ नेतृत्वचयनदेखि सांगठनिक निर्णयहरु गर्नेछ। नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुनेछ।
असोज ३० गतेसम्म सञ्चालन हुने सम्मेलनमा मुलुकको आर्थिक विकासमा संघको भूमिकालगायत विभिन्न सात शीर्षकमा छलफलसमेत हुनेछ।
सम्मेलनमा ८१ मुलुकका दुई हजार पाँच सय सहभागी उपस्थित भएका छन्। सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति, संघका अध्यक्ष भट्टको संयोजकत्वमा संघको आन्तरिक आयोजक समिति गठन गरिएको छ।
Shares

प्रतिक्रिया