परराष्ट्र मन्त्रालयले चीनका राष्ट्रपति सी चिनफिङले असोज २५ र २६ गते नेपाल भ्रमण गर्ने घोषणा गरेको छ।
चीनको परराष्ट्र मन्त्रालयले राष्ट्रपति सीले शुक्रबारदेखि आइतबारसम्म नेपाल र भारत भ्रमण गर्ने बुधबार बेइजिङमा घोषणा गरेलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी नेपालको राजकीय भ्रमणमा आउन लागेको परराष्ट्रमन्त्रालयले बुधबार विज्ञप्तीमा जनाएको हो।
‘राष्ट्रपतिले चीनका राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछिन् र राष्ट्रपति तथा उनको प्रतिनिधिमण्डलका लागि रात्रीभोजको आयोजना गर्नेछिन्’, विज्ञप्तीमा भनिएको छ।
राष्ट्रपति सीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पक्षीय वार्ता गर्नेछन् भने त्यही क्रममा दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ।
काठमाडौंमा रहँदा राष्ट्रपति सीले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शरेबहादुर देउवा लगायत केही उच्च नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया