सुनसरीका सञ्जीव कार्की (नाम परिवर्तन) एक वर्षदेखि वीर अस्पतालमा श्रीमतीको क्यान्सरको उपचार गराइरहेका छन्। सञ्जीवकी श्रीमतीलाई स्तन क्यान्सर भएको छ।
चिकित्सकले शल्यक्रिया गरिसकेका छन्। र, शल्यक्रियापछि केही समय किमोथेरापी गराउन भनेका छन्। तर किमोथेरापीमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ नामक जीवनरक्षक औषधि देशैभरि हाहाकार छ। त्यसको सिकार सञ्जीवकी श्रीमती बनिरहेकी छन्।
औषधिका लागि सञ्जीव तीन महिनादेखि भौँतारिरहेका छन्।
‘चिकित्सकले ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ औषधि ल्याउन भन्नुहुन्छ, औषधि पाइँदैन। उपचारमा निकै समस्या भइरहेको छ,’ सञ्जीवले भने, ‘शल्यक्रियापछि किमोथेरापी गराउनु पर्छ भनियो तर औषधि पाउन मुस्किल छ।’
‘एक पटक जोहो गर्यो, अर्को पटक कसरी पाउने भन्ने तनावले सताउँछ। सञ्जीव निराश हुँदै भन्छन्, ‘एक पटक औषधि पाउँदा पनि संसार नै जितेजस्तो खुसी हुने अवस्था आएको छ। सरकारले यस्तो औषधि आयात सहज नबनाउँदा क्यान्सरका बिरामीले दुःख पाइरहेका छन्। सरकारले चासो नदिने हो भने धेरै व्यक्तिको ज्यान जान सक्छ।’
किमोथेरापी क्यान्सरका कोषहरूलाई नष्ट गर्न वा तिनीहरूको वृद्धि रोक्न प्रयोग गरिने प्रमुख उपचार विधि हो। यो औषधिको माध्यमबाट गरिने उपचार हो।
सिस्प्लाटिन र कार्बोप्लाटिन सबै प्रकारका क्यान्सरमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि हुन्। नेपालमा यी औषधि उत्पादन हुँदैनन्, पूर्ण रूपमा विदेशबाट आयात हुन्छ। औषधि आयातकर्ताहरूले यी औषधि नेपालमा भारतबाट ल्याउने गरेका छन्। तर औषधि उत्पादनमा प्रयोग हुने प्लाटिनियमको अन्तर्राष्ट्रिय मूल्य बढेपछि उत्पादक कम्पनीहरूले उत्पादन लागत बढेको भन्दै मूल्यवृद्धि गरेका गरेका छन्।
भारत सरकारले गत जुन ११ तारिखमा मूल्य समायोजन गरेको थियो। भारतको मूल्य नेपालमा पनि समायोजन गर्नु पर्ने माग औषधि आयातकर्ताहरूले राख्दा सञ्जीवकी श्रीमतीजस्ता क्यान्सरका बिरामी त्यसको मारमा परेका हुन्।
वीर अस्पतालका क्यान्सर रोग विभागका प्रमुख डा विवेक आचार्य औषधिको अभावमा उपचार प्रभावित भइरहेको बताउँछन्।
डा विवेक ओपीडीमा दैनिक ७० देखि ८० जना क्यान्सरका बिरामी आउने र तीमध्ये केहीलाई किमोथेरापी आवश्यक पर्ने बताउँछन्।
‘वीर अस्पतालमा क्यान्सर भएका १० देखि २० जना बिरामी दिनहुँ किमोथेरापीका लागि आउँछन्। तर औषधिको समस्याका कारण बिरामीले सास्ती खेप्नु परेको छ,’ उनी थप्छन्, ‘औषधिको अभावमा क्यान्सररोगी बिरामीको उपचार नै प्रभावित भएको छ।’
डा विवेक शल्यक्रियापछि केही क्यान्सररोगीलाई किमोथेरापी आवश्यक पर्ने र ३ देखि ६ महिनासम्म औषधि लगाउनुपर्ने बताउँछन्।
‘औषधि नपाएर बिरामीका आफन्त भौँतारिनु हुन्छ, सरकारले पनि केही वितरणको नम्बर दिएको छ। हामीले पनि केहीको नम्बर दिएका छौँ। निकै दुःख पाएर कताकताबाट खोजेर ल्याउनु हुन्छ,’ उनले भने, ‘अहिलेसम्म गुजारा त चलिरहेको छ, अब औषधि नआए उपचार नै प्रभावित हुने जोखिम छ।’
उनी किमोथेरापीमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ मध्ये एउटा औषधि मात्र उपलब्ध भए पनि बिरामीलाई राहत हुने बताउँछन्।
‘दुई वटा औषधिमध्ये एउटा मात्र भए पनि बिरामीलाई राहत हुन्थ्यो। दुइटै औषधि छैनन्। यसरी त बिरामीको उपचार प्रभावित हुन्छ,’ डा विवेकले नेपालखबरसँग भने।
मूल्य समायोजन नभए औषधि आयात गर्दैनौँ : औषधि आयातकर्ता संघ
सरकारले औषधिको मूल्य समायोजन नगरे औषधि आयातकर्ताहरूले क्यान्सर रोगमा प्रयोग हुने औषधि आयात नगर्ने चेतावनी दिएका छन्। औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरे क्यान्सरका औषधि आयात नगर्ने बताउँछन्।
उनले स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहताले स्वचालित मूल्य लागू गर्ने जनाए पनि प्रक्रिया अघि नबढेको बताए।
‘मन्त्रीले संसदमा स्वचालित मूल्य प्रणाली समायोजन गर्ने बताउनु भएको थियो। हप्ता दिनभित्र समायोजन गर्छौँ भन्नु भएको थियो, हामीले पनि होला नि त भनेर केही औषधि ल्याऔँ भनेर आयात गर्न लगायौँ। मन्त्रीले संसदमा बोल्नुभएको १० दिन बढी भइसक्यो मूल्य समायोजन अघि बढ्न सकेको छैन,’ अध्यक्ष आचार्यले नेपालखबरसँग भने।
उनले बुधबार औषधि व्यवस्था विभागले छलफलमा बोलाएर मूल्य समायोजन गर्न नसक्ने बताएको जानकारी दिए।
‘गत बुधबार विभागले छलफलमा बोलाएको थियो। तर स्वचालित मूल्य लागू नगर्ने भनियो,’ उनले भने, ‘भारतमा औषधिको मूल्य समायोजन भइसकेको छ, हामी ११ वर्षअघि तोकिएको मूल्यमा औषधि ल्याउन सक्दैनौँ। राज्य आफ्ना नागरिकप्रति जिम्मेवार छैन भने हामी पनि केही गर्न सक्दैनौँ।’
‘उनले भारत सरकारले जति मूल्य तोकेको छ, त्यही मूल्यमा औषधि ल्याउन विभागले स्वीकृति दिए मात्र औषधि उपलब्ध गराउँछौँ, नत्र आयातकर्ताले ल्याउने अवस्था छैन,’ उनले थपे।
आचार्य नेपालमा भारतमा भन्दा ५१ प्रतिशतदेखि ७१ प्रतिशतसम्म कम एमआरपी तोकिएको बताउँछन्। नेपालमा औषधिको मूल्य निर्धारण गर्दा भारतको मूल्यलाई आधार बनाइएको तर भारतले हरेक वर्ष मूल्य समायोजन गरिरहे पनि नेपालमा भने त्यसो हुन नसकेको उनको भनाइ छ।
‘भारतमा उत्पादन हुने औषधि त्यहाँको मूल्यभन्दा सस्तोमा नेपालमा बेच्नुपर्ने अवस्था बनाइएको छ,’ उनले नेपालखबरसँग भने, ‘भारतले हरेक वर्ष मूल्य समायोजन गर्छ, तर नेपाल सरकारले ११ वर्षसम्म त्यो प्रक्रिया अघि बढाउन सकेन।’
‘सरकारले २०७२ सालदेखि औषधिको मूल्य समायोजन गर्न नसक्दा यो समस्या आएको हो। वर्षौँदेखि घाटा खाएर औषधि ल्याएका छौँ। अहिले भारतमा पनि मूल्य बढेको छ, सरकार मूल्य समायोजन गर्न तयार छैन,’ उनले थपे, ‘११ वर्षअघिको मूल्यमा अब ल्याउन सकिँदैन। सरकारले तत्काल यसलाई सम्बोधन गर्यो भने औषधि अभाव हुँदैन। गरेन भने नेपाल सरकारले सोच्ला के गर्ने भनेर, हामी ल्याउन सक्दैनौँ।’
उनले ‘कार्बोप्लाटिन’ १५० एमजीको भारतमा २२ सय ८६ रुपैयाँ ८५ पैसा पर्ने र नेपालमा यसको तोकिएको मूल्य १३ सय ९३ रुपैयाँ ७७ पैसा रहेको बताए।
‘४५० एमजी कार्बोप्लाटिन भारतमा ६८ सय ५९ रुपैयाँ ९४ पैसा र नेपालमा ४१ सय ३० रुपैयाँ ७७ पैसा तोकिएको छ। ‘सिस्प्लाटिन’को भारतले तोकेको मूल्य १ सय ८२ रुपैयाँ ९२ पैसा छ। एक भाइलको नेपाल सरकारको मूल्य १५९ रुपैयाँ ८७ पैसा,’ उनले भने, ‘४५० एमजीको ९१४ रुपैयाँ ७६ पैसा हुँदा नेपालमा ५३० रुपैयाँ २१ पैसा तोकिएको छ। जसकारण अब पुरानै मूल्यमा ल्याउन सकिँदैन।’
औषधि व्यवस्था विभागले ११७ प्रकारको औषधिको मूल्य तोकेको छ।
‘यतिबेला ३२ वटासम्म औषधिको मूल्य भारतभन्दा नेपालमा बढी छ। स्वचालित मूल्य लागू गर्दा ती औषधिको मूल्य भारतभन्दा कम पर्छ,’ आचार्यले भने।
औषधिको मूल्य समायोजनको विषयमा औषधि व्यवस्था विभागले आफ्नो आधिकारिक धारणा दिएको छैन। यस विषयमा विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले कुनै प्रतिक्रिया दिएनन्।
Shares

प्रतिक्रिया