राजनीति


‘झलनाथले पार्टी फुटाउँदै छ भनेर कुप्रचार गरियो’

‘झलनाथले पार्टी फुटाउँदै छ भनेर कुप्रचार गरियो’

नेपालखबर
असार १५, २०८३ सोमबार १४:४२, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्न लागेको भन्ने निराधार हल्ला र कुप्रचार गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। 

सोमबार काठमाडौँमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले कुप्रचार नगर्न आग्रह गरे। यो पुस्तक खनालले नै लेखेका हुन्। 

‘केही मान्छेहरूले झलनाथले अर्को पार्टी खोल्न थालेछ, पार्टी फुटाउन लागेछ भनेर कुप्रचार गरेछन्,’ उनले भने, ‘म ती कुप्रचारकहरूलाई फेरि एकपटक भन्न चाहन्छु, साथिहरू कुप्रचारको खेल कसैले पनि नखेल्नुहोस्।’

आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएको बताए। पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने कुनै योजना नरहेको उनको भनाइ थियो। ‘झलनाथ खनाल कहिल्यै एउटा गूट पनि नबनाएको मान्छे हो। गूट बनाउने कुरा पनि गलत हो भन्दै आएको मान्छे हो। तर यतिबेला हामीले वैज्ञानिक समाजवादको विचार निर्माण नगरिहुने भएन,’ उनले भने। 

अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापनाका लागि समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको उनले बताए। आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र विचलनलाई वैचारिक बहसमार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक लेखेको बताए। 

नेता खनालले वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्नु अहिलेको आवश्यकता रहेको पनि बताए।

‘अहिलेको लोकतन्त्रलाई अधिकतम उपयोग गरेर हामीले समाजवादी लोकतन्त्रमा पुग्नको निम्ति अब समाजवादी क्रान्ती चाहिन्छ। समाजवादी रुपान्तरण चाहिन्छ र अब हामीले स्थापना गर्न चाहिरहेको समाजवादी लोकतन्त्र हो,’ खनालले भने, ‘हाम्रो आन्दोलनभित्र रहेका कतिपय रिफराफहरू, कतिपय विकृतिहरू छन्। असमझदारीहरु पनि छन्। ती कुरा तोड्नको लागि यो किताबले अलिकति पनि मद्दत गर्‍यो भने मलाई त्यसले खुशी बनाउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad