नेपाली वामपन्थ र खासगरी नेकपा एमालेमा मदन भण्डारीको प्रभाव अझै पनि बलियो छ। सोभियत संघको विघटनसँगै नेपालमा प्रतिरक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई सिर्जनात्मक र नयाँ धारबाट विकास गर्न खेलेको भूमिकाले कम्युनिस्ट नेताहरू उनलाई सम्मान गर्छन्।
भण्डारी तत्कालीन मालेको २०४६ भदौ ९–१४ सम्म सिरहामा भएको चौथो महाधिवेशनबाट महासचिव चुनिएका थिए। त्यसबेला एमालेको सर्वाेच्च पद महासचिव थियो।
सोही महाधिवेशनले संयुक्त जनआन्दोलनबारे निर्णय गर्यो र नयाँ जनवादमा बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई अंगीकार गर्ने नीति अघि सार्यो।
सोही वर्षको माघमा संयुक्त वाममोर्चा गठन भयो र नेपाली कांग्रेससँग सहकार्य गरी २०४६ फागुन ७ गतेदेखि संयुक्त जनआन्दोलन सुरु भयो। २०४७ पुस २२ गते माले र नेकपा मार्क्सवादीबीच एकता भई नेकपा एमाले बन्यो। यससँगै भण्डारीको लोकप्रियता चुलिँदै गयो।
बहुदलस्थापनापछि २०४८ को पहिलो चुनावमा उनी काठमाडौँको २ नम्बर निर्वाचन क्षेत्रबाट सानदार मतसहित विजयी भए। उनले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएका थिए। त्यसबेला एमालेले ६९ सिट जितेको थियो।
२०४९ साल माघ १४ देखि २० गतेसम्म काठमाडौँमा एमालेको पाँचौँ महाधिवेशन भयो। जसले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव निर्वाचित गर्यो। यही महाधिवेशनले भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) लाई नेपाली क्रान्तिको कार्यक्रमका रुपमा अघि सार्ने निर्णय गर्यो।
जबज प्रतिपादन गरेर उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा, उभार र उचाइ दिए। जसले गर्दा नेपाली राजनीतिमा एमालेको सांगठनिक जग बलियो बनायो, जुन अझै पनि छ।
जनताको मनमनमा बसेका उनै भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परेर निधन भयो। यद्यपि, उनको निधनलाई लिएर एमालेका नेता–कार्यकर्तामा उब्जिएको आशंका कहिल्यै मेटिएन। एमाले पटकपटक सत्तामा गए पनि यो घटनाको छानबिन नभएकोमा कतिपय नेता र कार्यकर्ताले असन्तुष्टि जनाइरहेका छन्।
बेलायतको चर्चित पत्रिका द टेलिग्राफले भण्डारीबारे गरेको विश्लेषण थियो, ‘उनी न राजा थिए न प्रधानमन्त्री नै। तर आफ्नो छोटो र आँधीमय जीवनमा उनले नेपाली राजनीतिमा जे प्रभाव छाडे, त्यसको अनुभूति लामो समयसम्म रहिरहने छ।’
भण्डारीको निधनपछि मदन भण्डारी फाउन्डेसन स्थापना भयो। यसले भण्डारीको जन्मदिन असार १४ गते विचार गोष्ठी लगायतका कार्यक्रम गर्छ। कार्यक्रममा बोल्ने वक्ताहरू मदन भण्डारीको खुलेर प्रशंसा गर्छन्। शिक्षा र स्वास्थ्य, प्राविधिक क्षेत्र लगायतमा काम गरिरहेको प्रतिष्ठानकी अध्यक्ष तथा भण्डारीकी छोरी उषाकिरण भण्डारी बताउँछिन्।
मदन भण्डारी एमालेका महासचिव रहेकै बेला निधन भएकोले संस्थाले राजनीतिक विषयमाथि बहस गर्ने गरेको उनको भनाइ छ।
जुन कार्यक्रमबाट बिग्रेको थियो ओली–विद्याको सम्बन्ध
गतवर्ष पनि मदन जयन्तीको अवसरमा कार्यक्रम भएको थियो। प्रधानमन्त्री भएकाले प्रमुख अतिथि थिए केपी शर्मा ओली। ओलीले मदन भण्डारीका विषयमा केही विवादास्पद भनाइ राखे।
‘उसबेला पनि मदन भण्डारीलाई भनेकै हो, फुत्त दुलाबाट निस्किएर नेता हुन पाइन्छ भनेर, मदन भण्डारी फुत्त दुलाबाट निस्किएर नेता हुनुभएको थिएन,’ ओलीले भने, ‘भूमिगत काम गरेको धेरै वर्ष भएको थियो। संगठनात्मक काम गरेको धेरै वर्ष भएको थियो।’
भण्डारीमाथि व्यक्तिगत आरोप लागेको कुरा पनि ओलीले कोट्याए।
‘चार वटी कि कतिवटा श्रीमती छन् भनेर आरोप लगाइयो। त्यसको प्रमाण कसले खोज्न जाने अब, अनेक दुर्वाच्य बोलिए,’ उनले थपे, ‘सहकारीमा ठगेर हिँडेको हो भनेर आरोप लगाइयो। कुनै आधार, साइनो, सम्बन्ध केही पनि थिएन।’
आफूहरूले नै दबाब दिएर भण्डारीलाई महासचिव बनाएको ओलीले दाबी गरे।
जबज चौथो महाधिवेशनमा नै आइसकेकोले यसको श्रेय पनि भण्डारी एक्लैमा नजाने ओलीको तर्क थियो।
ओलीको उदयमा ठूलो भूमिका खेलेको मदन भण्डारी फाउन्डेसनकै कार्यक्रममा उपस्थित भएर ओलीले मदन भण्डारीबारे तथानाम बोलेपछि विद्याको मनमा के–के खेल्यो, उनले खुलाइनन्। तर, सो कार्यक्रमपछि उनीहरूबीचको तिक्तता चुलियो।
सोही दिन विद्याले एमालेको राजनीति गर्नेगरी आफूले पार्टी सदस्यता नवीकरण गरेको खुलासा गरिन्। र, अध्यक्षमै प्रतिस्पर्धा गर्ने संकेत पनि दिइन्।
त्यसपछि ओलीले विद्यालाई रोक्ने चाल सुरु गरे। २०८२ साउन पहिलो साता केन्द्रीय समितिको बैठक राखेर विद्यालाई एमालेको फेरि राजनीति गर्नै नदिनेगरी नवीकरण भइसकेको सदस्यता रोक्ने निर्णय गराइदिए। जसले गर्दा विद्या रुष्ट भइन्।
विद्यालाई एमालेको ढोका बन्द गरेका ओली गत मंसिर २७ देखि पुस ३ सम्म ११ औँ महाधिवेशन गरे। विद्याले ओलीविरुद्ध प्यानलै उठाइन्। यद्यपि, उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईबाहेक यो प्यानलबाट अन्यले जित्न सकेनन्।
फागुन २१ गते भएको प्रतिनिधि सभाको चुनावमा एमालेले शर्मनाक पराजय व्यहोर्यो। ओली नेतृत्व असफल भएको निचोड निकाल्दै पदाधिकारीका बहुमत सदस्यले उनको राजीनामा मागे। पार्टी सचिवालयमै एक्लै परेका ओलीले जेठ ४ गतेको सचिवालय बैठकबाट विद्याको सदस्यता नवीकरण गर्ने निर्णय गराए। संकटमा परेको बेला ओलीले विद्याको साथ खोजेको देखिन्छ।
यही अवधिमा मदन भण्डारी फाउन्डेसनले एमाले अध्यक्ष ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललाई एउटै मञ्चमा किन उभ्यायो त?
विद्यानिकट एमाले नेता विनोद ढकाल प्रचण्डबाहेक तीनै नेताले मदन भण्डारीसँग राजनीति गरेका थिए। खनाल त मदनअगाडिका महासचिव हुन्। एउटा कम्युनिस्ट धारको नेतृत्व गरेर आएकोले प्रचण्डलाई बोलाइनै पर्थ्यो।
तर, मदनकै गुनगान गाउन चार जना पूर्वप्रधानमन्त्रीलाई एउटै मञ्चमा राखिएको हो त?
ढकाल राजनीतिक सन्देश दिन खोजिएको हुनसक्ने बताउँछन्।
‘मुख्य चार नेता एकै ठाउँमा उभिनुले राजनीतिक अर्थ राख्छ, उनले भने, ‘पछिल्लो चरण नेपालमा कम्युनिस्ट आन्दोलन संकटमा परेको छ, यसको समाधानका लागि केही प्रतिबद्धता जनाउन खोजिएको हो।’
भण्डारी निकट अर्का नेताले तीन वटा उद्देश्य लिएर अघि बढिएको बताए।
‘हिजो गाली गरागर गरेकाहरू एउटै मञ्चमा बसेर कार्यक्रम गर्ने भनेको केही न केही भएरै हो,’ उनले भने, ‘सुरुमा सबै एकै ठाउँमा उभिने, त्यसपछि कार्यगत एकता गर्दै एकतासम्म पुग्न सकिन्छ कि भन्ने सन्देश दिने कोसिस हो।’
यसको अगुवाइ विद्याले गरेकी छन्।
कम्युनिस्ट पार्टीहरू संकटमा परेको संकेत गर्दै उनले बदलिँदो पुस्ताको आकांक्षाअनुसार कम्युनिस्ट आन्दोलनले समयानुकूल आफूलाई निरन्तर परिष्कृत गर्नुपर्ने बताइन्।
‘बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवयश्कता पूरा गर्ने सामर्थ्य नीति र नेतृत्वमा हुनुपर्छ, विगतका उपलब्धिको स्मरण मात्रै पर्याप्त हुँदैन,’ कार्यक्रममा विद्याले भनिन्।
नेकपाका वरिष्ठ नेता खनालले सिंगो कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र भएकाले एकताबद्ध हुनुपर्ने बताए।
‘यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन ढंगले अगाडि बढाउने कामको थालनी गरौँ,’ उनले भने, ‘एकताबद्ध भएर अगाडि बढे मात्रै देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले मच्चाइरहेको बबण्डरविरुद्ध लड्न सकिन्छ।’
नेकपा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले पनि मिलेर अघि बढ्नुको विकल्प नभएको बताए।
संयोजक प्रचण्डले सरकार संविधान र उत्पीडित समुदायमाथि प्रहार गर्न उद्यत भएकोले यसलाई रोक्न आवश्यक रहेको बताए।
‘राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ,’ उनले भने, ‘सहकार्य आज सकिन्छ भने आजै गरौँ, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौँ।’
यद्यपि, तत्काल पार्टी एकता गरौँ नभनेको उनको भनाइ छ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालले जनताको बदलिँदो मनोविज्ञानलाई बुझ्न नसकेको स्वीकार गर्नुपर्ने बताए।
‘नेपालका जति पनि कम्युनिस्ट घटक छन, त्यसको आत्ममन्थन गर्न सक्नुपर्छ। त्यो गर्न सक्यौँ भने मात्रै हामीले कम्युनिस्टहरूलाई एक बनाउन सक्छौँ,’ उनले भने।
एमाले अध्यक्ष ओलीले बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकार प्रतिगमन भएको आरोप लगाए।
‘सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र पराजित गर्नैपर्छ प्रतिगमनलाई,’ ओलीले भने।
Shares

प्रतिक्रिया