नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीप्रति आपत्ति प्रकट गरेका छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले सरकार सुशासनको नारा दिएर फासीवादतर्फ उन्मुख भएको र संविधानमाथि नै खतरा पैदा गरेको आरोप लगाए। बैठकको सुरुमा धान दिवसको शुभकामना दिँदै सांसद विष्टले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको एक मार्मिक गीतको प्रसग उल्लेख गरे।
गीतले सहकारी ठगी, गरिबको रगत र वैदेशिक ऋणको चपेटामा परेको मुलुकको यथार्थ चित्रण गरेको भन्दै उनले सरकारको पृष्ठभूमि नै विवादास्पद रहेको बताए। ‘एकातिर प्रदेश सभालाई बोझ भनेर खारेजीको कुरा गरिन्छ, अर्कोतिर ५७ जना मन्त्रीका स्वकीय सचिवहरूलाई विशिष्ट श्रेणीको सुविधा दिएर राज्यको ढुकुटी रित्याइँदै छ। तीन अर्बको गाडी खरिद गर्ने योजना सार्वजनिक भएको छ, जबकि सिंहदरबारभित्रै पुराना गाडीहरू थन्किएका छन्,’ सांसद विष्टले भने।
सांसद विष्टले हालै सम्पन्न रास्वपाको महाधिवेशनमा प्रस्तुत दस्ताबेजको चर्चा गर्दै रास्वपाभित्र वैचारिक द्वन्द्व देखिएको टिप्पणी गरे। उनले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै रास्वपाको आलोचना गरे।
त्यस्तै, राहदानी (एमआरपी) प्रकरणमा जर्मनीले नेपाली दूतावासलाई बोलाएर गालीगलौज गर्नुले नेपालको कूटनीतिक छवि धमिलिएको बताए। प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा मिचिएको विषयमा दिएको अभिव्यक्ति र चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार निरीह बनेको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्यालयको कार्यशैलीलाई ‘हिटलरको ग्यास च्याम्बर’ सँग तुलना गर्दै संवैधानिक अंगका प्रमुखहरू र मानव अधिकार आयोगका सदस्यहरूलाई बोलाएर धम्क्याउने काम भएको आरोप लगाए। रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न गएका प्रधानसेनापति अशोकराज सिग्देलले घण्टौँ कुर्नुपर्ने अवस्था आएको भन्दै सरकारको कार्यशैली रहस्यमय रहेको बताए।
उनले विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिमा बार्गेनिङ भइरहेको आरोप लगाए। ‘आज विश्वविद्यालयका भीसीका लागि अन्तर्वार्ता लिँदै छन्,’ उनले थपे, ‘कसले कति बुझाउछ भनेर प्रधानमन्त्री र शिक्षामन्त्रीका अलगअलग मान्छेहरू बार्गेनिङ गरिरहेका छन्।’
शिक्षा तथा स्वास्थ्य क्षेत्र अस्तव्यस्त रहेको उल्लेख गर्दै सांसद विष्टले सुशासनको नारा केवल भ्रम मात्र भएको दाबी गरे। २०७२ सालको संविधानलाई निकम्मा बनाउने र देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको जिकिर गरे।
संविधानको रक्षाका लागि आफूहरू सदैव दृढ रहने प्रतिबद्धता व्यक्त गर्दै सांसद विष्टले सरकारलाई राजनीतिक र कूटनीतिक संवादमार्फत मुलुकका समस्या समाधान गर्न सुझाव दिए।
Shares

प्रतिक्रिया