राजनीति


रसुवागढीको सीमा नदीमा पक्की पुल बनाउन चीन तयार, नेपालको जवाफ पर्खिँदै

रसुवागढीको सीमा नदीमा पक्की पुल बनाउन चीन तयार, नेपालको जवाफ पर्खिँदै

सिचाङ (तिब्बत) जनसरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ।


सुमन सुस्केरा
असार १५, २०८३ सोमबार १५:१२, ​ल्हासा

चीन सरकारले रसुवागढीस्थित नेपाल-चीन सीमा नदीमा पक्की पुल निर्माण गर्न आफू पूर्णरूपमा तयार रहेको स्पष्ट पारेको छ। 

चीनको स्वशासित क्षेत्र सिचाङ (तिब्बत) जनसरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङले रसुवागढी नाकामा पक्की पुल बनाउने विषयमा चीन सरकार सकारात्मक रहेको र यसका लागि नेपाल सरकारको औपचारिक जवाफको प्रतीक्षा गरिरहेको खुलासा गरे।

ल्हासास्थित सांग्रिला होटलमा आयोजित नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनासम्बन्धी विशेष कार्यक्रम अघि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँगको द्विपक्षीय शिष्टाचार भेटघाटका क्रममा कार्यकारी उपाध्यक्ष पेङले उक्त कुरा बताएका हुन्। 

भेटमा महावाणिज्यदूत निरौलाले नेपाल-चीन सीमा नाकाहरूमा आयात-निर्यात तथा आवतजावतलाई सहज बनाउन र आवश्यक भौतिक पूर्वाधारको विकासमा सहयोग पुर्‍याउन चिनियाँ पक्षसँग विशेष अनुरोध गरेका थिए।

जवाफमा उपाध्यक्ष पेङले नेपाल र चीनको सिचाङबीच हिमालय र नदीहरूले जोडिएको अत्यन्तै बलियो सम्बन्ध रहेको चर्चा गर्दै सीमा व्यवस्थापन र पूर्वाधार विकासमा सहयोग गर्न चीन सधैँ तत्पर रहेको उल्लेख गरे।

​द्विपक्षीय वार्ताका क्रममा सीमा पूर्वाधारबाहेक ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षणका विषयमा पनि छलफल भएको छ। 

महावाणिज्यदूत निरौलाले सातौँ शताब्दीमा राजकुमारी भृकुटीको समयमा ल्हासामा स्थापना भएको ऐतिहासिक सरस्वती मन्दिर र सन् ९५६ मा सिगात्सेमा निर्माण गरिएको नेपाली भीमसेन मन्दिरलाई नेपाली शैलीमा जीर्णोद्धार गरिदिन अनुरोध गरेका थिए।

चिनियाँ सरकारका तर्फबाट कार्यकारी उपाध्यक्ष पेङले ती पुरातात्त्विक मन्दिरहरूको जीर्णोद्धारका लागि चीनले आवश्यक पहल गर्ने आश्वासन दिए।

​यसका साथै भेटमा नेपाली पक्षले तिब्बतमा बसोबास गर्ने नेपालीहरूको व्यवसाय र आवतजावतमा सहजीकरण गरिदिन, नेपाली नागरिकहरूलाई भिसा र तिब्बत प्रवेश अनुमति प्रक्रिया थप सरल बनाइदिन समेत चिनियाँ अधिकारीहरूसँग आग्रह गरेको छ।

​महावाणिज्यदूतावासद्वारा आयोजित मुख्य समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पेङले नेपाल सुन्दर, शान्त र चीनको सच्चा मित्र भएकाले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा व्यापार विस्तार र लगानी गर्न आह्वान गरे। 

आफ्नो भर्खरै सम्पन्न नेपाल भ्रमण र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण जस्ता उच्चस्तरीय भ्रमणहरूले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याएको उनको भनाइ थियो।

​समारोहका अध्यक्ष एवं महावाणिज्यदूत निरौलाले नेपाल ‘एक चीन नीति’ प्रति सधैँ प्रतिबद्ध रहेको र नेपाली भूमि कुनै पनि मित्रराष्ट्र विरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेका थिए। 

सिचाङ सरकारका परराष्ट्र, पर्यटन, यातायात, भन्सार, अध्यागमन र सीमा सुरक्षा लगायतका सम्बद्ध सबै विभागका उच्च अधिकारीहरू र चिनियाँ तथा नेपाली व्यवसायीहरू गरी ११३ जनाको सहभागिता रहेको सो कार्यक्रममा वाणिज्यदूत सविन भट्टराईले नेपालको आर्थिक र पर्यटकीय सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad