नागरिक अभियन्ता डाक्टर सुन्दरमणि दीक्षितले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकार प्रमुखको स्वास्थ्य अवस्थाबारे सर्वसाधारणलाई जानकारी नगराइएको भन्दै गुनासो गरेका हुन्। उनले उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्रीलाई डाक्टरले के भने र किन फेरि जाँदै छन् भन्ने जानकारी जनताले पाउनुपर्ने तर्क गरे। उनले भने, ‘उहाँलाई केही भइदियो भने नेपालको अवस्था खराब हुन्छ। हामीले थाहा पनि नपाउने?’
नागरिक अभियन्ता दीक्षितले उच्च प्रविधियुक्त वर्तमान अवसथमा औषधिको मात्रा मिलाउनका लागि मात्रै प्रधानमन्त्री सिंगापुर जाने कुरालाई विश्वास गर्न नसकिने भन्दै उनले यथार्थ जानकारी गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
उनले भने, ‘हामीलाई जानकारी चाहियो । विज्ञप्ति चाहियो एक्ज्याक्टली के भएको हो? आम नागरिकको हक हो यो। उहाँको अगाडिको भविष्य के छ? हामीले थाहा पाउनुपर्छ।’
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डाक्टर राजन भट्टराईले प्रधानमन्त्री दैनिक भेटघाट र बैठकहरुमा सहभागी हुँदै आएकाले स्वास्थ्य अवस्थाबारे चिन्ता लिइहाल्नुपर्ने स्थिति नरहेको स्पष्ट पारे।
केही दिनअघि मात्रै स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्री फेरि स्वास्थ्य उपचारकै लागि सिंगापुर जान लागेपछि उनको स्वास्थ्यबारेमा सर्वत्र चासो बढेको छ।

प्रतिक्रिया