मंगलबार सेयरबजार पुनः खस्किएको छ। साताको पहिलो कारोबार दिन नै ऋणात्मक देखिएको सेयरबजार दोस्रो दिन सुधारिए पनि पुनः तेस्रो दिन आज ८.४३ अंकले ओर्लिएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज १.७६ अंकले झरेको छ। कुल १ सय ६५ कम्पनीको कारोबार भएको दिन आज बजारमा ६ हजार २ सय ८१ पटक सेयर किनबेच भएका थिए। सो क्रममा ११ लाख ७३ हजार कित्ता सेयर बिक्री भएका थिए। सो खरिदबिक्रीबाट २७ करोड २५ लाखको कारोबार भएको छ।
आज व्यापार र म्युचुअल फन्डबाहेकका सबै समूहको कारोबार सूचक झरेका छन्। बीमा समूहको कारोबारमा धेरै गिरावट देखिएको छ।
कारोबारमा भने आज सोल्टी होटल सबैभन्दा अगाडि आइपुगेको छ। कम्पनीको आज मात्रै चार करोड ३५ लाखको सेयर प्रतिकित्ता २ सय ३१ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीको १ करोड ६५ लाखको, एनआईसी एसिया बैंकको १ करोड ३२ लाखको र नेपाल बैंकको १ करोड ३ लाखको सेयर कारोबार हुँदा अन्य समूहको कारोबार करोड पुग्न सकेन।
आज कमाउनेमा भने विशालबजार कम्पनीका लगानीकर्ता रहेका छन्। प्रतिकित्ता सेयर मूल्य ५.६२ प्रतिशतले बढ्दा ७८ रुपैयाँ खुद आम्दानी भएको छ। यसबाहेक सपोर्ट माइक्रोफाइनान्स वित्तयि संस्थाका सेयरधनीले पनि १२ रुपैयाँ आम्दानी गरेका छन्।
त्यस्तै, आज फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ५० रुपैयाँ, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २८ रुपैयाँ, गुराँस लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २५ रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया