राजनीति


जब सभामुखले हर्क साम्पाङलाई बस्न आदेश दिए

जब सभामुखले हर्क साम्पाङलाई बस्न आदेश दिए

नेपालखबर
असार ३, २०८३ बुधबार १३:४०, काठमाडौँ

प्रतिनिधि सभाको बैठकमा सांसद हर्क साम्पाङले उभिर प्रश्न सोध्ने अड्डी लिएपछि सभामुख डोलप्रसाद अर्यालले बस्न आदेश दिनुपरेको छ। 

बुधबार प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेटका विषयमा सांसदले सोधेका प्रश्नको मन्त्रीहरूले उत्तर दिइरहेका छन्। त्यही क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले सांसदका प्रश्नको उत्तर दिएकी थिइन्। 

मन्त्रीले दिएको उत्तरमा चित्त नबुझेमा फेरि स्पष्टीकरण माग्न सकिने व्यवस्था छ। त्यसैअनुसार, उद्योगमन्त्री गौरी कुमारीलाई श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रश्न सोधेका थिए। 

साम्पाङको प्रश्न थियो– संगीत, खेलकुद र चलचित्रलाई पनि उद्योग मान्न सक्छौँ या सक्दैनौँ? सक्छौँ भने त्यस क्षेत्रमा के कति बजेट विनियोजन गरेका छौँ? 

तर, प्रष्टीकरण दिने क्रममा मन्त्रीले यस विषयमा केही बोलिनन्। त्यसपछि सांसद साम्पाङले आसनबाट उठेर फेरि प्रष्टीकरण सोध्न पाउनुपर्ने माग गरे। 

तर, सभामुख अर्यालले प्रष्टीकरणमाथि प्रष्टीकरण सोध्न पाउनु व्यवस्था नभएको स्मरण गराए। उनले सांसद साम्पाङलाई आफ्नो आसन बस्न भने। 

सांसद साम्पाङले फेरि पनि प्रश्न सोध्न पाउनुपर्ने माग गरे। त्यसपछि सभामुख अर्यालले भने, ‘म माननीय सदस्य हर्कराज राईलाई आफ्नो आसनमा बस्न अनुरोध गर्दछु।’

जति गर्दा पनि साम्पाङले मानेनन्। त्यसपछि सभामुख अर्यालले संसद् सचिवालयका कर्मचारीसँग सरसल्लाह गरे। सल्लाहपछि पनि सांसद साम्पाङलाई बस्न भने। तर, उनले मानेनन्। 

त्यसपछि सभामुख अर्यालले भने, ‘म माननीय सदस्य हर्कराज राईलाई आफ्नो आसनमा बस्न आदेश दिन्छु।’

सभामुखको आदेशपछि भने साम्पाङ आफ्नो आसनमा बसे। प्रतिनिधि सभाको बैठकमा सबै सदस्यले सभामुखको आदेश मान्नुपर्ने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad