प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि सरकारले सबै शक्ति केन्द्रित गर्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा पदबहाली गरेपछि मन्त्रीहरुलाई पहिलो निर्देशन दिँदै उनले कोरोना नियन्त्रणमा सबै शक्ति परिचालन गर्न निर्देशन दिएका हुन्।
‘अहिलेको मुख्य समस्या भनेको कोभिड १९को नियन्त्रण हो’, ओलीले भने, ‘हामी यसलाई पराजित गर्छौँ। त्यसका लागि सबै सामर्थ्य केन्द्रित गर्न जरुरी छ। यो काम सरकारले गर्नेछ।’
सो क्रममा सबै अंग परिचालन गरिने जनाउँदै उनले तिनलाई परिचालन गर्न र महामारी नियन्त्रणमा केन्द्रित हुन निर्देशन दिए।
उनले कोरोनाको कारण उद्योग व्यापारमा समस्या नपरोस् भन्नको लागि सरकार सजग रहेको पनि बताए।
‘उद्योग, व्यापारमा समस्या नपरोस् भनेर सरकार सजग छ, यी सबै काम गर्न राज्यका सबै साधन स्रोत र सामर्थ्य लगाउँछौँ, त्यसमा कुनैमा कमी नआओस् भन्नेमै सरकार छ’, सम्बोधनका क्रममा ओलीले भने।
उनले सरकार देश र जनताप्रति नतमस्तक भएर काम गर्ने पनि दाबी गरे।
प्रधानमन्त्री ओलीले संसदमा रहेको सबैभन्दा ठूलो दलको रुपमा आज शपथ लिएका हुन्।
उनले मौजुदा मन्त्रिपरिषद्लाई नै निरन्तरता दिएका छन्।

प्रतिक्रिया