प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार चुनौतीमा टेकेर आएको हुँदा कसैको चाहनामा चल्ने र ढल्ने दुबै नहुने दावी गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्ने सपना नदेख्न आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले लामो समय पदमा कोही पनि नबस्ने बताए। सरकारको नेतृत्व तत्काल परिवर्तन हुने हल्लातर्फ संकेत गर्दै उनले आगामी निर्वाचनसम्म आफू नेतृत्वको सरकार टिक्ने दावी समेत गरे।
उनले सरकारको उद्धारतालाई कमजोरी ठानेर संविधान विरोधी गतिविधि नगर्न चेतावनी समेत दिए। प्रतिपक्षी दलले सरकार अधिनायवादतर्फ गयो भन्ने आरोपलाई जनताले नपत्याएको उनको भनाइ थियो।
सरकार विकास र समृद्धिको यात्रामा अगाडि बढेको र एकपछि अर्कौ गरेर विकासमा इतिहास कायम गर्दै गएको उनको दावी थियो। ‘सरकारले केही गरेन भन्दाभन्दै धेरै गरेको छ’, यतिले चित्त बुझेन भने अझैँ यसलाई बढाउँदै लैजाने हो।’
प्रधानमन्त्री ओलीले हटाइसकिएको राजतन्त्र पुनः फर्काउछौँ भन्नु दिवास्वप्ना मात्रै भएको बताए। राजसंस्था र राजावादीहरुप्रति आक्रमक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले सरकारको उद्धारताबाट नहौसिन चेतावनी समेत दिए।
‘सरकारलाई राजतन्त्र फर्कन्छ भन्ने विश्वास लागेको छैन, त्यसैले उद्धारता देखाएको हो’, उनले भने, ‘जुनदिन विश्वास लाग्छ त्यो दिन संविधान र गणतान्त्रको रक्षाका लागि उत्रिन्छ।’
प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तन उल्ट्याउने र व्यवस्था फेर्छु भन्ने कुरा सम्भव पनि नभएको र त्यस्तो हुन खोजे आफू चुप नबस्ने चेतावनी समेत दिए।
‘जुन संस्था र शक्तिका कुरा गर्छन् मान्छेहरु, ती शक्तिहरु ज्यूँदो हुँदा हामीले ठेगान लगाएका हौं’, उनले भने, ‘अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने परिकल्पना गरेर पनि उफ्रिएको देखिन्छ ।’
Shares

प्रतिक्रिया