प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले मंगलबार बेलुका राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यको मनोनयन दर्ता गराए। मध्यराति भएपनि चितवनको गर्मीले निथ्रुक्क भिजेका उनको पक्षमा केही युवाहरू मत माग्न थाले। दुई घण्टा जति शाह प्रतिनिधि भेटघाटमा लागे।
प्रधानमन्त्री बालेनका नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले पनि रास्वपाको केन्द्रीय सदस्यको उम्मेदवार दर्ता गराएर मंगलबार राति देखिनै प्रचारमा लागे। इन्जिनियर पृष्ठभूमिमा उनले प्रचारमा युवाहरूलाई नै खटाए। शाह र ढकाल मात्र होइन, बालेनको स्वकीय उपसचिव प्रकृति ढकालले पनि केन्द्रीय सदस्यको उम्मेदवारी दिइन्।

बुधबार बिहानदेखि यी तिनै जना मत माग्न व्यस्त थिए। प्रत्येक मतदाता भेट्ने हतारोमा उनीहरू देखिन्थे। असिनपसिन बनेका उनीहरू कतिपय मतदातालाई प्रश्नको उत्तर दिन पनि भ्याउँदैनथिए, अर्को समूहले झम्टिहाल्थ्यो।
रास्वपाको ९९ जना केन्द्रीय सदस्यमा पर्न चुनाव जित्नैपर्ने दबाबमा ऊनीहरू देखिँदा प्रधानमन्त्री बालेनकै निकट केही नेता भने कुनै दु:ख नगरी पद पड्काउने दाउमा छ्न्। त्यसमध्येमा पर्छन् निवर्तमान महामन्त्री भुपदेव शाह, गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साल।
ऊनीहरू तीनै जनाले कुनै दु:ख नगरी पद लिने योजना बनाएका छन्। शाह त बरु चितवन उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा देखिएका छन्। तर प्रधानमन्त्री बालेन्द्र शाहले देश बनाउने टीमका रुपमा चिनाएका गुरुङ र लम्साल कुनै दु:ख नगरी रास्वपाको केन्द्रीय सदस्य बन्ने योजनामा छन्।

चितवनको आत सुकाउने टन्टलापुर घाममा सुकेर ४ हजार बढीको मत जितेर निर्वाचित केन्द्रीय सदस्य बन्न दौडधुप गरिरहँदा बालेन निकट केही नेता चुनावसँग डराएका छन्।
पहिलो पटक महाधिवेशन गरेको रास्वपामा ९९ सदस्यको लागि ३ सय ५५ जनाको उम्मेदवारी परेको छ। त्यसमा पनि खुलाबाट जम्मा ३२ जनामात्र छन्।
गत पुस १३ गते रास्वपासँग एकताबाट आएको बालेन समूह पहिलोपटक पार्टी राजनीतिको महाधिवेशनमा सहभागी भएको छ। तर, बालेन टीममै रहेका केहीले प्रत्यक्ष चुनाव लड्ने हिम्मत जुटाउँदा देश बनाउने टीमको नेतृत्वमा रहेका नेताहरूले मनोनयनको घुमाउरो बाटो रोजेको भन्दै महाधिवेशनस्थलमा प्रतिनिधि टिप्पणी गरिरहेका भेटिन्थे।

चुनाव जित्न्थे कि हार्थे? त्यो प्रस्ट छैन तर, प्रत्यक्ष चुनाव लड्ने हिम्मत नगरेर पार्टी सभापति रवि लामिछानेवाट मनोनित बन्न कोसिसमा छन्।
५ वर्षको लागि शक्तिशाली सभापति निर्विरोध निर्वाचित भएका लामिछानेले ५१ जना केन्द्रीय सदस्य, एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता र दुई सहप्रवक्ता मनोनीत गर्ने पाउँछन्।
‘प्रधानमन्त्रीका खास विश्वासपात्र र निकट केही नेता चुनाव लड्न डराउनुभएको देखियो,’ एक प्रतिनिधिले भने, ‘जनताबाट अनुमोदित भएको व्यक्तीले लोकतान्त्रिक प्रक्रियाबाट भाग्नु राम्रो होइन। त्यो मनोनीत कोटा उहाँहरूको लागि होइन।’
काङ्ग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई विधि र कानुन अनुसार नचलेको भनेर गाली गर्दै जनतालाई नयाँ दल भनेर विश्वास दिलाएको रास्वपाले पछ्याउन खोजेको बाटो सही नभएको प्रतिनिधिको भनाइ छ।

Shares

प्रतिक्रिया