संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा भारत प्रशासित कस्मिरको विषयमा अनौपचारिक बैठक बसेको छ।
पाकिस्तानले राष्ट्र संघलाई पत्र लेखेपछि शुक्रबार सो अनौपचारिक बैठक बसेका हो। यो बैठक एक बन्द कोठामा बसेको बीबीसीले जनाएको छ।
तर, बैठक समाप्त भएपछि भारत, चीन र पाकिस्तानका राजदूतले पत्रकारसँग कुराकानी गरेका थिए।
राष्ट्रसंघका लागि भारतका राजदूत सैयद अकबरुद्दीनले भारतले संविधानको धारा ३७० हटाएर कस्मिरको विशेषाधिकार हटाउने विषय आन्तरिक विषय भएको बताएका थिए।
भारतले भन्योः पहिले पाकिस्तानले आतंकवाद रोक्नुपर्छ
राजदूत अकबरुद्दीनले भारतसँग कस्मिरको विषयमा छलफल गर्नपूर्व पाकिस्तानले सुरुमा आतंकवाद रोक्नु पर्ने बताए।
अमेरिका न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा पत्रकारसँग बोल्दै उनले कस्मिरको विषय शान्तिपूर्ण तरिकाले छलफल गरेर टुंग्याउनु पर्ने तथा यस विषय एकतर्फबाट फैसला लिन नहुने बताए।
चीनले के भन्यो?
चीनले संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार भारत प्रशासित कस्मिरको विवाद सुल्झाउनु पर्ने बताएको छ। कस्मिर मुद्दा खतरनाक स्थितिमा परिणत हुँदै गएको चीनको भनाइ रहेको छ।
संयुक्त राष्ट्र संघका लागि चीनका राजदूत झांग जुनले राष्ट्रसंघ सुरक्षा परिषदका सदस्य राष्ट्रहरु कस्मिरको मानवअधिकारको स्थितिका बारेमा चिन्तित भएको बताएका छन्।
पाकिस्तान के भन्छ?
पाकिस्तानले कस्मिरको विषय आफूहरुले अन्तर्राष्ट्रियकरण गरेको बताएको छ। कस्मिरको विषय राष्ट्रसंघमा उठिसकेकाले यो अब भारतको आन्तरिक मामला नभएको राष्ट्रसंघका लागि पाकिस्तानका राजदूत मलिहा लोधीले बताए।
संविधानको धारा ३७० हटाउने विषय अब अन्तर्राष्ट्रिय मुद्दा भएको पाकिस्तानको ठहर छ। मलिहाले भने,‘मलाई लाग्छ आजको वैठकले भारतले कस्मिरको मुद्दा उसको आन्तरिक विषय हो भन्ने दावालाई खारेज गरिदिएको छ। चीनका राजदूतले जम्मु कस्मिरको मानवअधिकारको बिग्रदो स्थितिलाई जोड दिए। त्यहाँ साच्चै मानवअधिकारको स्थिति धेरै खराब छ र भारत बल प्रयोग गरेरै मानवअधिकार उल्लंघन गरिरहेको छ।’

प्रतिक्रिया