पहिलो वार्ता सन् २०१८ को जुन १२ मा सिंगापुरमा भएको थियो भने दोस्रो वार्ता भियतनामको हनोइमा सन् २०१९ को फेब्रुअरी २७ देखि २८ सम्म भएको थियो।
यो वार्ताहरुले ठोस निर्णय भने दिन सकेको थिएन। उत्तर कोरियाले आफूमाथि लगाएको अन्तर्राष्ट्रिय प्रतिबन्धहरु अमेरिकाले फुकुवा गरेमा आफूले परमाणु कार्यक्रम पूर्ण रुपमा बन्द गर्ने बताएको थियो।
तर अमेरिकाले उत्तरले परमाणु कार्यक्रम बन्द गर्नुपर्ने र आफूले आशिंक रुपमा सबै प्रतिबन्ध फुकुवा गर्दै जाने बताएको थियो। एकैपटक पूर्ण प्रतिबन्ध फुकुवाको सर्त अमेरिकाले नमानेपछि उत्तरले क्षेप्यास्त्र कार्यक्रमलाई बन्द गरेको छैन।
हनाेइमा ट्रम्प र किम
हाल अमेरिकाले उत्तर कोरियासँग व्यापार गर्दैन भने अमेरिकी नागरिक त्यहाँ भ्रमण गर्न जान पाउँदैनन्।
अमेरिकामा नयाँ सरकार परिवर्तन भएपछि हालै उत्तरले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु भएको बताएको थियो। नयाँ राष्ट्रपति जो बाइडेनले पहिल्यैबाट किम र ट्रम्पको सम्बन्धको बारेमा आलोचना गर्दै आएका थिए।
भियतनाममा किमलाई ट्रम्पको अफर
यतिबेला दोस्रो शिखर वार्ताका बेला ट्रम्पले किमलाई व्यक्तिगत रुपमा आफ्नो जेट विमानमा घर पुर्याइदिने प्रस्ताव राखेको विषय सार्वजनिक भएको छ।
बीबीसीको वृत्तचित्रका अनुसार ट्रम्प किमलाई एयर फोर्स वन जेट विमानमा लिफ्ट दिन चाहन्थे। बोइङको एयर फोर्स वान जेट विमान अमेरिकी राष्ट्रपतिको यात्राको लागि प्रयोग गरिन्छ।
रेलमा किम
तर किम प्रायः भ्रमणका लागि रेल प्रयोग गर्दछन्। जुन रेल उनको हजुरबुबाले पनि प्रयोग गर्दथे।
उनी हरियो रेलमै भियतनामको हनोइमा आइपुगेका थिए। उत्तर कोरियाबाट त्यहाँसम्म आइपुग्न किमलाई दुई दिन लागेको थियो।
यसरी किमलाई भियतनाम आइपुग्न ढिलो भएको देखेपछि ट्रम्पले आफूले दुई घण्टामै जेटमा उनलाई घरसम्म छाडिदिने प्रस्ताव गरेका थिए।
तर किमले भने ट्रम्पको प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ। सुरक्षा खतरा देखाउँदै किमले ट्रम्पको विमान चढ्न नमानेको डकुमेन्ट्रीले दाबी गरेको छ।

Shares

प्रतिक्रिया