राजनीति


बुटवलमा शनिबार ओली पक्षको सभा, दुई लाख मान्छे उतार्ने दाबी

बुटवलमा शनिबार ओली पक्षको सभा, दुई लाख मान्छे उतार्ने दाबी

सागर न्यौपाने
माघ ३०, २०७७ शुक्रबार १२:१६,

केपी ओली नेतृत्वको नेकपाले शनिबार लुम्बिनी प्रदेशको बुटवलमा आमसभा गर्दैछ। सिद्धेश्वर मैदानमा हुने सो आमसभामा दुई लाखभन्दा बढी उपस्थित गराउने सो पार्टीको दाबी छ।

रुपन्देहीबाट १ लाख र प्रदेशका अन्य जिल्लाबाट १ लाख मानिस ल्याइने सो पार्टीका नेताहरुले बताएका छन्।

त्यसका लागि महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतका नेताहरु खटिएका छन्।

जनयुद्ध दिवसकै दिन शनिबार बिहान ११ बजे सभा सुरु हुने मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

सभाअघि गोलपार्क, चौराह, जोगीकुटी, तिनाउ पुल लगायतका स्थानबाट विभिन्न जुलुस निस्किनेछ।

यसकारण दोहोर्‍याइयो बुटवल
प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति घोषणा गरेपछि ओली पक्षले दोस्रो पटक बुटवलमा सभा गर्न लागेको हो।

लुम्बिनी प्रदेश ओली पक्षको देशभरमै सबैभन्दा बलियो पकड रहेको क्षेत्र मानिन्छ। ओली पक्षका ठूला नेताहरु थुप्रै यही प्रदेशका छन्। अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र मणि थापा, वैजनाथ चौधरी, खिमलाल भट्टराई जस्ता नेताहरु यही प्रदेशका हुन्।

‘हुन त यसअघि पनि बुटवलमा कार्यक्रम भएको थियो, तर पछिल्लो दिन तल्लो स्तरबाट सोही स्थानमा फेरि कार्यक्रम गर्न दबाब आएपछि प्रदेशले बृहत आमसभा राखेको हो,’ मुख्यमन्त्रीका प्रेस संयोजक केसीले नेपालखबरसँग भने।

नेकपाभित्र देखिएको विवादपछि पनि ओली पक्ष सो प्रदेशमा शक्तिमा छ। त्यसैले ओलीले बुटवलमा सभा गरेर चुनावी माहौल तयार गर्न खोजेका छन्।

प्रतिनिधि सभा विघटन गरेर चुनावमा जाने ओली कदमको अन्य पार्टीले चर्को विरोध गरिरहेका छन्।

‘त्यसलाई चिर्दै चुनावी माहौल बनाउनेगरी कार्यकर्ता र जनतालाई स्पष्ट पार्न सभा आयोजना गरिएको हो,’ प्रदेशका एक नेताले भने।

butawal_q452346.jpg

यी हुन् सम्बोधन गर्ने वक्ता
सभामा ओली समूहका सबै शीर्ष नेताले सम्बोधन गर्ने जनाइएको छ।

प्रधानमन्त्री ओली, महासचिव पौडेल, स्थायी समिति सदस्य रायमाझी र लेखराज भट्ट तथा मुख्यमन्त्री पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

पूर्व जनमुक्ति सेनाको भेला
माओवादीले सुरु गरेको जनयुद्ध दिवसको अवसर पारेर पूर्व जनमुक्ति सेनाले लुम्बिनी प्रदेशमा भेला राखेको छ।

बिहान नौ बजे बुटवलमा हुने भेलालाई स्थायी समिति सदस्य लेखराज भट्ट र मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्दैछन्।

पाँच सय बढी पूर्व जनमुक्ति सेना उपस्थित हुने बताइएको छ।

प्रधानमन्त्री ओलीले पूर्व जनमुक्ति सेनालाई आफूतिर तान्न कोसिस गरिरहेका बेला शनिबार नै बुटवलमा उनीहरुको भेला पनि राखिएको हो।

तत्कालीन माओवादीले २०५२ साल पाmगुन १ गते जनयुद्ध सुरु गरेको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाउँदै आएको छ।

आकर्षक मञ्च, चुस्त व्यवस्थापन
कार्यक्रमलाई भव्य बनाउन मञ्च सजावटदेखि व्यवस्थापनमा समेत निकै ध्यान दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसीले बताए।

पाँच वटा डिजिटल स्क्रिनबाट आमसभालाई प्रसारण गर्ने व्यवस्था मिलाइएको र सहभागी भएका र वरपर बसेकाहरुले समेत सुन्नेगरी साउन्ड सिस्टमको व्यवस्था गरिँदैछ।

ओली पक्षले माघ २३ गते काठमाडौंमा सभा गरेको थियो। त्यसबेला पछाडि बसेका सहभागीले आवाज नसुनेको भन्दै गुनासो गरेका थिए।

त्यस्ता गुनासा आउन नदिन प्राविधिक पक्षलाई ध्यान दिइएको केसीको भनाइ छ।

आमसभास्थललाई मिडियामैत्री बनाइएको, तीव्र गतिको इन्टरनेटको व्यवस्था मिलाइएको र प्रधानमन्त्री लगायत सबैको सहजै तस्बिर लिन सकिनेगरी मिलाइएको केसीले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad