संसदमा वर्तमान राष्ट्रपति निकोलास मदुरोका समर्थकहरुको बहुमत रहेको छ।
विपक्षी नेता हुँवा गोइदो भने औपचारिक रुपमै संसदीय कारबाहीबाट अलग भएका छन्।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नयाँ संसदको निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन्।
अमेरिकी विदेश मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको विज्ञप्तिमा अमेरिकाले भेनेजुएलाको आधिकारिक राष्ट्रपति गोइदो रहेको जनाएको छ।
मन्त्री पोम्पेओले भनेका छन्, “नयाँ संसद गैरकानुनी छ र यसलाई अमेरिकाले बैधानिक मान्दैन।”
संसदको नयाँ निर्वाचन परिणामलाई अमेरिका सहित ब्राजिल, कोलम्बिया र उरुग्वेले पनि मान्यता नदिने जनाएका छन्।
दक्षिण अमेरिकाका एक दर्जन मुलुक र क्यानाडा समेत सहभागी रहेको लिमा समूहका सदस्यहरुले भेनेजुएलामा सम्पन्न संसदीय निर्वाचन र त्यसबाट प्राप्त परिणामलाई अस्वीकार गर्ने जनाएका छन्।
नेसनल एसेम्ब्लीको कूल २७७ स्थानमध्ये २५६ स्थानमा राष्ट्रपति मदुरोको युनाइटेड सोसलिस्ट पार्टी र यसको गठबन्धन दलले जितेको छ।
भेनेजुएलामा गत डिसेम्बर ६ मा संसदका लागि निर्वाचन भएको थियो जसलाई विपक्षी दलहरुले बहिस्कार गरेका थिए।
नेसनल एसेम्ब्लीको कार्यकाल पाँच वर्षको हुन्छ। यसअघि यस सभामा विपक्षीको बहुमत रहेको थियो, र विपक्षी नेता गोइदो सन् २०१९ देखि सभामुख थिए।
गोइदोले विपक्षी सांसदहरुलाई समेटेर समानान्तर छायाँ संसद बनाउने योजना बनाएका छन्। उनलाई विश्वका झण्डै ५० वटा मुलुकले भेनेजुएलाका आधिकारिक राष्ट्रपतिको रुपमा मान्यता दिएका छन्।
राष्ट्रपति मदुरोमाथि मतदानमा धाँधली गरेको आरोप लाग्दै आएको छ।
संसदमा यसअघि विपक्षीको बहुमत रहेपनि संसदले गर्ने हरेक निर्णयलाई मदुरोको प्रभावमा रहेको सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। एएफपी

प्रतिक्रिया