समाज


मनसुनी रेखा नेपालनजिकै, यी स्थानमा ठुलो वर्षाको सम्भावना

काठमाडौँमा कति बेला पर्ला पानी?
मनसुनी रेखा नेपालनजिकै, यी स्थानमा ठुलो वर्षाको सम्भावना

नेपालखबर
असार २८, २०८३ आइतबार ८:२७, काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराईनजिक छ। जसका कारण यतिबेला (आइतबार बिहान) देशभर साधारणतया बादल लागेको छ। लुम्बिनी प्रदेशका धेरै स्थान, कोसी, बागमती,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार, 

दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी  र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति : कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भूभागका धेरै स्थानमा, मधेस प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशका पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोसी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोसी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ।

काठमाडौँमा पनि वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षाको सम्भावना छ।

‘अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ तत्कालै पानी पर्ने सम्भावनाचाहिँ देखिएको छैन’, उनले आज बिहान ८ बजे नेपालखबरसँग भने, ‘तर दिउँसोपछि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’ 

मौसमविद् ढकालका अनुसार दिउँसो २/३ बजेपछि र राति वर्षाको सम्भावना बढी देखिएको छ। 

‘उपत्यकाभित्रै पनि कतै सानो त कतै ठुलै वर्षा हुने सम्भावना देखिएको छ’, उनले भने। 

पानी पर्नुअघि भने काठमाडौँ उपत्यकामा बेलाबेला घाम पनि देखिने सम्भावना रहेको मौसमविद् ढकालको भनाइ छ। 

हेर्नुहोस् मंगलबारसम्मकै मौसम प्रक्षेपण

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad