संविधान सभा सदस्य मञ्च नेपालले देशी विदेशी षडयन्त्रमा प्रतिनिधि सभा विघटन गरिएको भन्दै कडा शब्दमा विरोध गरेको छ ।
मञ्चकी अध्यक्ष कल्पना धमलाले बुधबार एक विज्ञप्ति जारी गर्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक सिद्धान्त लगायतका महत्वपूर्ण उपलब्धिमाथिको गम्भीर आक्रमण भएको बताएकी छिन्।
‘गैरसंवैधानिक तवरले वलात गरिएको संसद विघटनको यो हर्कत देशी विदेशीहरुको डिजाइनमा र अपवित्र गठवन्धन र सेटिडमा भएको हो भन्ने कुरा स्वयं प्रधानमन्त्री निकटका सूत्रहरुले अनौपचारिक रुपमा वताउने गरेको तथ्यले राजनीतिक वृत्तमा झन संशय पैदा गरेको छ’, धमलाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘२०७७ पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभाको विघटन संविधानसभाको मर्म र भावनाविपरीत भई नयाँ संविधानले अंगीकार गरेको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी समानुपातिक सिद्धान्त जस्ता महत्वपुर्ण उपलब्धिहरु माथिको गम्भीर आक्रमण, नयाँ संविधान कार्यान्वयनमा गम्भीर विचलन र अवरोध को परिणाम हो भन्ने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विगत सत्तरी वर्षदेखिको नेपाली जनताले आफनो संविधान आफै लेख्न पाउनुपर्ने मागका लागि गरेको त्याग बलिदान र समर्पणको परिणामस्वरुप प्राप्त उपलव्धीहरुमाथिको उक्त गंभिर आक्रमणप्रति हामी घोर भर्त्सना र निन्दा गर्दछौँ।’
संसद पुनस्र्थापनाको लागि सबै पक्षलाई अहोरात्र लाग्न पनि मञ्चले आग्रह गरेको छ। मञ्चले सर्वोच्च अदालतले सरकारको सो कदमलाई सच्याएर पुर्ववत अवस्थामा फर्काउने विश्वास लिएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारका हरेक कामको पुनरावलोकन गर्ने, संवैधानिक व्यवस्थालाई पूर्ववत् अवस्थामा फर्काउन अदालत सक्षम हुनेछ भन्ने पनि हामीलाई विश्वास छ ।’

प्रतिक्रिया