प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले राजधानीमा लालटिन जुलुस निकालेको छ।
बुधबार दिउँसो काठमाडौँको माइतीघरबाट सुरु भएको जुलुस बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

जुलुसमा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री योगेश भट्टराई पनि सहभागी थिए।
‘दिउँसै लालटिन बाल्दा नि भेटिएन है, प्रतिनिधि सभा विघटनको धारा खै !' भन्ने ब्यानरसहित अनेरास्ववियूले जुलुस निकालेको हो।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि अनेरास्ववियू आन्दोलनमा उत्रिएको हो।

अनेरास्ववियूका नेता विजय गौतमले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको घोषित आन्दोलन अन्गर्तत लालटिन जुलुस निकालेको बताए। उनले प्रधानमन्त्रीको कदम नसच्चिएसम्म आन्दोलन जारी रहने बताए।

‘प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक, असंवैधानिक छ, यो संघीय गणतन्त्रको विपक्षमा छ’, गौतमले भने, ‘यो कदम नसच्चिएम्म आन्दोलन जारी रहन्छ।’
अनेरास्ववियूले प्रधानमनत्रीको कदमविरुद्ध पुस २१ देखि सुरु भएर २९ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो।

अनेरास्ववियूले पुस २१ गते सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन तथा कोणसभा गर्ने, पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सिटी/लाठी जुलुस प्रदर्शन गर्ने पुस २३ देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते सीडीयो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम तथा २६ गते बयलगाडा प्रदर्शन गर्ने लगायतका कार्यक्रम तय गरेको छ।


प्रतिक्रिया