ad ad

राजनीति


स्वर्गीय कम्युनिस्ट नेता हर्कबहादुर शाहीको स्मृति ग्रन्थ विमोचन

स्वर्गीय कम्युनिस्ट नेता हर्कबहादुर शाहीको स्मृति ग्रन्थ विमोचन

नेपालखबर
पुस १९, २०७७ आइतबार १०:३०,

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले दिवंगत कम्युनिष्ट नेता हर्कबहादुर शाहीको स्मृति ग्रन्थ विमोचन गरेका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान (सिद्धिचरण हल) कमलादीमा शनिबार आयोजित एक कार्यक्रमका बीच वैद्यले स्मृति ग्रन्थको विमोचन गरेका हुन्।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव वैद्यले हर्कबहादुर शाही जिवनको अन्तिम घडिसम्म पनि नयाँ जनवाद, जनगणतन्त्र र वैज्ञानिक समाजवाद र परिवर्तनको पक्षमा उभिएको सच्चा क्रान्तिकारी योद्धा भएको बताए ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा उनले डबल नेकपाको आन्तरिक कलह र आरोप–प्रत्यारोपले कम्युनिष्ट आन्दोलनमाथि नै प्रश्न चिन्ह खडा भएको बताए ।

उनले भने, ‘हामीले संसदीय व्यवस्थाको पनरावृत्तिका लागि जनयुद्ध गरेका थिएनौँ। यसकारण संसद विघटन हुँदा कुनै आकाश खसेको छैन। त्यही व्यवस्थाका लागि गरिने चुनावको पनि अर्थ नहुने भएकाले अब देशमा वैकल्पिक व्यवस्थाको स्थापनाका लागि सच्चा कम्युनिष्टहरू एकढिक्का हुनु जरूरी छ।’

महासचिव वैद्यले नेता हर्कबहादुर शाहीका इच्छा, आशा र अभिलाशाहरू परिवर्तनसँग जोडिएकाले उनले देखाएको बाटोमा हिँड्न सकियो भने त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताए।

कृष्ण सेन ‘इच्छुक’ साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणी दुःखीले स्मृति ग्रन्थको बारेमा समालोचना गरेका थिए। उनले नेता शाहीका बारेमा पुस्तकमा समाहित विभिन्न लेख रचनाले उनको व्यक्तित्वको चित्रण गरेको बताए।

स्मृति ग्रन्थ विमोचन कार्यक्रमका विशेष अतिथि नेकपा (क्रान्तिकारी माओवादी) देशभक्त जनगाणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य गणेश शाह रहेका थिए।

ग्रन्थको समालोचना गर्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष, वरिष्ठ साहित्यकार तथा लेखक हरिहर अधिकारी ‘श्यामल’ले पस्तकमा नेता शाहीको जिवनका धेरै पाटाहरू समेटिए पनि कतिपय विषयवस्तु दोहोरिएको टिप्पणी गरे।

अर्का विशेष अतिथि पूर्व कानुनमन्त्री एवम् नेता शाहीका समकक्षि प्रेमबहादुर सिंहले हर्कबहादुर शाही स्मृति फाउण्डेसनले राजा महाराजाको इतिहास लेखिने विरासतलाई क्रमभङ्ग गर्दै जनताको इतिहास र क्रान्तिको इतिहासलाई लिपिवद्ध गरेकोमा बधाई ज्ञापन गरे।

नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटि सदस्य रामसिंह श्रीसले विमोचन कार्यक्रमको अध्यक्षता गरेका थिए।

कार्यक्रममा विशेष अतिथिको रूपमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषीराम कट्टेल, नेकपा ९क्रान्तिकारी माओवादी०का प्रवक्ता हरिभक्त कँडेल, अतिथिको रूपमा पूर्व सांसद लक्ष्मि पोख्रेल, पूर्व सांसद नरबहादुर हमाल, प्रगतिशिल साहित्यकार एवम् हर्कबहादुर शाही स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा। मधुसूदन गिरी, प्रगतिशिल साहित्यकार नरेन्द्रजङ्ग पिटर र राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरत शाहीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .