ad ad

राजनीति


प्रतिनिधि सभा विघटनसँगै निस्क्रिय भए ३८ विधेयक

प्रतिनिधि सभा विघटनसँगै निस्क्रिय भए ३८ विधेयक

नेपालखबर
पुस १९, २०७७ आइतबार १०:३०,

प्रतिनिधि सभा विघटन भएसँगै प्रतिनिधि सभामा कायम रहेका ३७ विधेयक र प्रतिनिधि सभाले सन्देशसहित राष्ट्रिय सभामा पठाएको एक विधेयक गरी ३८ विधेयक निस्क्रिय बनेका छन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेसँगै निकै समय, श्रम र खर्च लगाएर तयार पारिएका ३८ वटा विधेयक निस्क्रिय बनेका छन्। विधेयक निस्क्रिय भएसँगै प्रतिनिधि सभाको मेहनत त खेर गएको छ नै, आगामी दिनमा यि विधेयकहरुलाई पुनः सुरुवातकै विन्दुबाट सुरु गर्नुपर्ने हुन्छ भने कानून बन्ने कुरामा पनि ढिलो हुने निश्चित भएको छ।

प्रतिनिधि सभामा दर्ता भई वितरण भएका ५ वटा गैरसरकारी सहित १२ वटा विधेयक, सभामा प्रस्तुत मात्रै भएका ४ वटा विधेयक, राष्ट्रिय सभाबाट सन्देश पठाएर प्रतिनिधि सभामा टेबुल भएका ४ विधेयक, राष्ट्रिय सभाको सन्देशमाथि विचार गर्न बाँकी २ वटा विधेयक, प्रतिनिधि सभाका विभिन्न समितिमा विचाराधिन १० वटा विधेयक, प्रतिनिधि सभाका समितिका प्रतिवेदन हाउसमा पेश भएका ५ वटा विधेयक गरी जम्मा ३७ वटा विधेयक प्रतिनिधि सभामा विचाराधिन अवस्थामा रहेका थिए।

त्यस्तै प्रतिनिधि सभाले शन्देशसहित राष्ट्रिय सभामा एउटा विधेयक पठाएको थियो। यससँगै ३८ विधेयक निस्क्रिय हुने अवस्थामा पुगेको हो। यि विधेयकहरु कानूनी प्रावधान एवं संवैधानिक व्यवस्था अनुसार निस्क्रिय हुने संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

निस्क्रिय हुने विधेयकहरुमा संघीय निजामती सेवा विधेयक २०७५, नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५, लोकसेवा आयोग विधेयक २०७५, सूचना प्रविधि सम्बन्धी विधेयक २०७५, राष्ट्रिय सुरक्षा परिषद् विधेयक २०७५ लगायतका महत्वपूर्ण विधेयकहरु रहेका छन्।

यि विधेयकहरु पास हुन ढिलाई हुँदा आवश्यक कानून बन्नसमेत ढिलो हुने देखिएको छ। यता, राष्ट्रिय सभातर्फ भने १८ वटा विधेयक कायम रहेका छन्। ८ वटा विधेयक सभामा विचाराधिन अवस्थामा रहेका छन् भने १० वटा विधेयक समितिमा विचाराधिन अवस्थामा रहेका छन्। यी विधेयकहरुलाई सबै प्रक्रिया पुरा गरी अघि बढाउन सकिने भएपनि प्रतिनिधि सभा नभएको अवस्थामा कानून बन्ने प्रक्रिया रोकिन्छ।

विधेयकले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै प्रक्रिया पुरा गरे पछि मात्र कानूनको रुप पाउँछ। भर्खर शुरु भएको अधिवेशनमा राष्ट्रिय सभा मात्र चल्ने भएकोले र बिधेयक माथिको छलफल भए पनि सरकारले राष्ट्रिय सभालाई बिजनेस दिएमात्रै सभा क्रियाशिल हुने र सरकारले विजनेस नल्याए यि विधेयकहरुको प्रक्रिया सकिएपछि सभाले बिजनेस पाउने अवस्था नरहने प्रवक्ता धमलाको भनाई छ।

यसरी निकै रकम, समय र स्रोत साधन खर्चेर तयार गरी छलफल गरिएका र पास गर्ने दिशामा अघि बढेका विधेयकहरु निस्क्रिय हुँदा यसको व्ययभार राज्यलाई निकै पर्नेछ। आगामी दिनमा पुनः सुरुवातको विन्दुबाट विधेयकको प्रक्रिया अघि बढ्ने हुँदा उत्तिनै खर्च र समय लाग्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .