ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सडक आन्दोलनमा गएको नेकपाकै एक खेमाले बाह्य शक्ति निम्त्याएको आरोप लगाएका छन्।
ओली समूहको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाका लागि पाल्पा आएका मन्त्री ज्ञवालीले शनिबार पाल्पाको तानसेनमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा सडक आन्दोलनमा गएको समूहले बाह्य शक्तिलाई गुहारेको आरोप लगाएका हुन्। उनले प्रचण्डले एक अन्तर्वार्तामा छिमेकी देश गुहारेको बताए। उनले बाह्य शक्ति निम्त्याउने खेलको पर्दा खुल्दै गएको दावी गरे।
मन्त्री ज्ञवालीले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसम्मत रुपमै प्रतिनिधिसभा विगठन गरेको बताए। ‘प्रधानमन्त्रीले गरेको संसद् विघटनको निर्णय संवैधानिक र लोकतान्त्रिक छ’, उनले भने, ‘यसको विरोध गर्नुको कुनै अर्थ छैन।’
मन्त्री ज्ञवालीले नेकपाका एक समूहका नेतामा कहिल्यै तृप्त नहुने महत्त्वाकांक्षा रहेको र त्यसैका कारण अहिलेको समस्या आएको बताए।
उनले घरभित्र केही समस्या आउन शक्ने भन्दै धरको समस्या घरमै नमिलाएर विदेशी शक्ति निम्त्याउनु दुखद् भएको बताए।
‘घरभित्र समस्या आउन सक्छन्, घरको समस्यामा विदेशी शक्ति निम्त्याउनु दुखद् छ,’ उनले भने, ‘त्यस्तो कुरा बाहिर आइसकेपछि केही नेताहरुको कहिल्यै तृप्त नहुने महात्वाकांक्षा रहेको छ। यसमा जनता बलि चढ्दैनन् भन्ने विश्वास छ।’
उनले अवको बाटो निर्वाचन भएको र निर्वाचनबाट लोकतन्त्र, संविधानको संरक्षण हुने जिकिर गरे। जनताको लामो योगदानबाट प्राप्त वर्तमान उपलब्धिलाई उल्टाउने प्रयास सफल नहुने उनको भनाई थियो।

प्रतिक्रिया