राजनीति


‘चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग जोड्न आवश्यक छैन’

‘चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग जोड्न आवश्यक छैन’

नेपालखबर
मंसिर १५, २०७७ सोमबार १४:५७,

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन्।

नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उनले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका हुन्।

चिनियाँ रक्षामन्त्री फेङ्हे आइतबार नेपालको एकदिने भ्रमणमा आएका थिए। रिपोर्टस क्लबमा भएको साक्षत्कारमा डा. भट्टराईले छिमेकीहरुसँग नेपालको सम्पन्ध जहिलेपनि स्वतन्त्र हुने उल्लेख गर्दै त्यसलाई तेस्रो मुलुकसँग जोड्ने गल्ति गर्न नहुने बताए।

उनले भने, ‘जहिलेपनि हामी स्वतन्त्र मुलुक हौँ। अर्को स्वतन्त्र मुलुकसितको सम्बन्ध स्वतन्त्र नै हो। त्यसलाई तेस्रो मुलुकसँग जोड्ने कुरा अगाडि बढायौँ भने हामी फस्छौँ। त्यो गलत हामीले गर्नुहुँदैन। नेपाल भारतको सम्बन्ध दुई मुलुकको स्वतन्त्र सम्बन्ध हो। नेपाल र चीनको सम्बन्ध पनि दुई मुलुकको सम्बन्ध हो। अन्य जुनसुकै मित्रराष्ट्रहरुसँगको सम्बन्ध पनि हाम्रो स्वतन्त्र सम्बन्ध हुन्छ।’

डा. भट्टराईले नेपाली सेनालाई वार्षिक रुपमा चीनले दिँदै आएको सहयोगको निरन्तरता बाहेक अन्य कुनै गतिविधि नभएको उनले बताए। उनले भारतसँग सीमा विवाद लगायतका विषयमा परराष्ट्रमन्त्री स्तरीय जोइन्ट कमिसनको बैठक डिसेम्बर महिनाभित्र नै सम्पन्न हुने पनि बताए। उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सम्बन्धित कमिटीहरुमा छलफल गरी टुंगोमा पुग्नुपर्ने बताए ।

पूर्व रक्षामन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले चीन र भारत दुवै देशलाई सँगै लिएर नेपालले आफ्नो हितका लागि काम गर्नुपर्ने बताए। नेपाल कुनै पनि देशतिर नढल्केर कुनै पनि देशको अहित हुने काम नगरेर आफ्नो उन्नति गर्नतिर लाग्नुपर्ने उनले बताए। उनले चीन र भारत दुवै देशलाई आफ्नो विश्वासमा लिएर काम गर्नुपर्ने पनि बताए।

नेपालले युद्धको अवस्था ल्याउन दिन नहुने उल्लेख गर्दै उनले भने, ‘हाम्रो सेनाको प्रयोग र सबभन्दा बढि सदुपयोग भनेको नै युएन पिसकिपिङमा मात्रै हो, नेपालको सिमामा सेनाले त्यति चासो दिएको छैन। त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ। सेना डाईरेक्ट जानुपनि हुँदैन। युद्धै भएको अवस्थामा मात्रै जाने हो। नेपालले युद्धको अवस्था ल्याउन दिनुपनि हुँदैन। सुगौली सन्धिमा हामीले धेरै गुमायौं नि। हाम्रो रणनीति भनेको नै भारत र चीनलाई विश्वासमा लिएर नै नेपालको हितमा सम्बन्ध उपयोग गर्ने हो। नेपालले एक अर्काविरुद्ध प्रयोग गर्नुहुँदैन।’

नागरिक अगुवा सुन्दरमणि दिक्षितले नेपालका राजनीतिक दल र नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा देशको हितका लागि सोचेर अगाडि बढ्न आग्रह गरे। दुई ठूला विकसित देशहरुको बीचमा रहेको नेपालले दुबै देशसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्न सके मात्रै प्रगति गर्न सकिने भएकाले व्यक्तिगत स्वार्थमा केन्द्रित नहुन उनले आग्रह गरे।

उनले भने, ‘नेपालीहरुले अलिकति बुद्धि लगाउन सक्यौँ भने। आफ्नो स्वार्थ र पार्टीको स्वार्थ छोडेर यी दुई मुलुकसँग फाइदा लिन सक्यौँ भने केही सिक्यौँ भने हामी धेरै माथि जान सक्छौँ। दलका नेताहरुले आपसको हित हेरेर चीन र भारतलाई लडाएर, झगडा गराएर आफ्नो पार्टीलाई मात्रै फाइदा हुनेगरी अगाडि बढे नेपालको फल प्राप्त गर्दैन। त्यो फल प्राप्त गर्न सकिएन भने हाम्रो दुर्भाग्यपूर्ण अवस्था हुने छ।’

उनीहरुले आफ्नो देशको हितलाई हेरेर चीन र भारतसँगको सम्बन्ध विस्तार गरी अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad