राजनीति


ललितपुरबाट ९ चिनियाँ नागरिक पक्राउ, अन्धकार कोठामा लुकेका थिए ७ जना

ललितपुरबाट ९ चिनियाँ नागरिक पक्राउ, अन्धकार कोठामा लुकेका थिए ७ जना

नेपालखबर
असार १७, २०८३ बुधबार १७:४६, काठमाडौँ

अध्यागमन विभागले ललितपुरबाट ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। धोबीघाटबाट ३ र चोभारबाट ६ जना चिनियाँ नागरिकलाई विभागले पक्राउ गरेको हो। 

धोबीघाटस्थित एक घरमा ठूलो संख्यामा चिनियाँ नागरिकहरूले शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा अध्यागमन विभागले अनुगमन तथा खानतलासी गरेको थियो।

सो घरमा तीन जना र चोभारस्थित ट्रेजर्स प्रालिमा शंकास्पद गतिविधिमा संलग्न अन्य ६ जनालाई नियन्त्रणमा लिइएको थियो। विभागका अनुसार अनुसन्धानका लागि १८ थान चिनियाँ राहदानी पनि नियन्त्रणमा लिइएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा धोबिघाटको चारतले घरमा २९ जना चिनियाँ नागरिक बस्दै आएको खुलेको छ।

विभागको टोली पुग्दा ११ पुरुष र ११ महिला गरी २२ जना चिनियाँ नागरिक फेला परेका थिए। तीमध्ये ४ जना व्यावसायिक र १८ जना पर्यटक भिसामा नेपालमा आएका थिए।

सबैसँग वैध भिसा भए पनि २२ जनामध्ये १८ जनाले मात्र राहदानी दिएको विभागको भनाइ छ। बाँकी ४ जनाले राहदानी भिसा प्रयोजनका लागि कानुन व्यवसायीसँग रहेको बताएपछि अनुसन्धानका लागि १८ थान राहदानी नियन्त्रणमा लिइएको छ।

सो घर ड्रागन ब्रिज इन्टरनेसनल प्रालिले भाडामा लिएको खुलेको अद्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।

अनुगमनका क्रममा उक्त घरलाई होस्टल भनिए पनि होस्टल सञ्चालनसम्बन्धी कुनै आधिकारिक साइनबोर्ड, उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता वा अन्य कानुनी कागजात फेला परेका थिएन।

महिला र पुरुषलाई एउटै आवासमा राखिएको पाइएको छ। आफूलाई होस्टल सञ्चालक बताउने कर्मा शेर्पा र मञ्जु लामासँग त्यहाँ बसोबास गर्ने विदेशी नागरिकको अभिलेख वा वास्तविक विवरणसमेत उपलब्ध नभएको पाइएको ढकालले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानबाट अधिकांश चिनियाँ नागरिक पर्यटक भिसामा नेपालमा बसोबास गर्दै चोभारस्थित ट्रेजर्स प्रालि तथा ड्रागन ब्रिज इन्टरनेसनल प्रालिसँग आबद्ध भई कार्यरत रहेको खुलेको छ।

‘उनीहरू भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको देखिएको छ,’ उनले भने, ‘उक्त घर सुमन कार्कीको स्वामित्वमा रहेको र ड्रागन ब्रिज इन्टरनेसनल प्रालिले लिजमा सञ्चालन गरिरहेको खुलेको छ।’

भारतीय आयुर्वेदिक उत्पादनको प्रदर्शनी केन्द्रका रूपमा सञ्चालन गरिएको अध्यागमन विभागले ट्रेजर्स प्रालिको भवनमा अत्यधिक सुरक्षा व्यवस्था, ठूलो संख्यामा सीसीटीभी, निजी सुरक्षा गार्ड परिचालन तथा सर्वसाधारणलाई पूर्णरूपमा प्रवेश निषेध गरिएको अवस्था फेला परेको छ।

अनुगमनका क्रममा करिब १८ जना चिनियाँ नागरिक त्यहाँ कार्यरत रहेको र तीमध्ये अधिकांश पर्यटक भिसामा रहेको पाइएको छ। 

कर्मचारीहरूको अभिलेख उपलब्ध नगराइएको, राहदानी तथा परिचयपत्र देखाउन अस्वीकार गरिएको, कम्पनीको वास्तविक सञ्चालकबारे कर्मचारीहरू अनभिज्ञ रहेको तथा भवनभित्र फोटो तथा भिडियो खिच्न निषेध गरिएको अवस्था फेला परेको छ। 

भवनका विभिन्न कोठामा टुरिस्ट प्रोहिबिटेड लेखिएका स्टिकर टाँसिएको तथा निजी संस्थाले प्रयोग गर्ने पास कार्डमा नेपालको राष्ट्रिय निशान छाप प्रयोग गरिएको पनि भेटिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा सीसीटीभी डाटा रुमसँग जोडिएको झ्यालविहीन अन्धकार कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा ७ जना चिनियाँ नागरिक लुकेर बसेको भेटिएको थियो। तीमध्ये ५ जनालाई नियन्त्रणमा लिइएको छ भने दुई जना फरार भएका छन्। 

अद्यागमन विभागका प्रवक्ता ढकालका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा केही चिनियाँ नागरिक क्रिप्टो कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।

प्रारम्भिक अनुसन्धानबाट धोबीघाटस्थित आवास र चोभारस्थित ट्रेजर्स प्रालिबीच प्रत्यक्ष सम्बन्ध रहेको देखिएको उनको भनाइ छ। होस्टल सञ्चालक कर्मा शेर्पा र मञ्जु लामाले त्यहाँ बस्ने अधिकांश चिनियाँ नागरिक ट्रेजर्स प्रालिमै कार्यरत रहेको स्वीकार गरेका छन्।

यसले धोबीघाटस्थित घर चिनियाँ नागरिकहरूको आवासीय केन्द्र र चोभारस्थित कम्पनी उनीहरूको कार्यस्थलका रूपमा प्रयोग भइरहेको देखाएको विभागको भनाइ छ।

यसअघि पनि उक्त घरबाट विदेशी नागरिकमार्फत धार्मिक गतिविधि सञ्चालन भएको भेटिएको थियो। 

२०८२ भदौ ५ गते सोही स्थानबाट चार जना इन्डोनेसियाली नागरिकलाई नियन्त्रणमा लिई तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको ढकालले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad