नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता नहुने बताएका छन्।
बुधबार पोखरामा आयोजित गण्डकी प्रदेश समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले तत्काल एकता सम्भव नभएको बताएका हुन्। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य जारी गरेरै एकता सम्भव नभएको बताएकाले पनि अहिले कम्युनिस्ट पार्टीबीच एकता नहुने बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘अहिले कम्युनिस्ट पार्टीको बीचमा एकता गर्न सम्भव छैन भनेर महामहिम केपी शर्मा ओलीजीले भन्नुभएको छ। त्यसैले तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता हुन्छ भनेर कसैले पनि कल्पना नगरे हुन्छ।’
उनले पहिले नेकपालाई बलियो बनाउनुपर्ने बताए। त्यसपछि मात्रै एकताका कुरा गर्नुपर्ने बताउँदै नेपालले भने, ‘पहिले आफू बलियो बनौँ। हाम्रो पार्टी बलियो भएपछि मात्र अरूमा आशा जाग्छ र ध्यान आकर्षित हुन्छ।’
नेकपालाई बलियो बनाउन आफ्नो विचारसहित जनतामा जानुपर्ने नेपालले बताए। नेकपाको विचारबारे फैलाइएका भ्रममा नपर्न पनि उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे।
‘हाम्रो पार्टीसँग सिद्धान्त छैन भन्ने भ्रम फैलाउन खोजिएको छ, तर हामी मार्क्सवादी–लेनिनवादी क्रान्तिकारी विचारबाट विचलित हुनु हुँदैन,’ नेपालले भने, ‘यसका लागि केन्द्र, प्रदेश र जिल्ला तहसम्म प्रशिक्षण अभियान चलाउनुपर्छ।’
यससँगै उनले आन्तरिक लोकतान्त्रिक अभ्यासमा जोड दिए। नेता तथा कार्यकर्ताको रुचीलाई ध्यानमा राखेर जिम्मेवारी दिनुपर्ने बताए। यसका लागि उनले कम्युनिस्ट पार्टीले पहिले अवलम्बन गर्नुपर्ने बताए।
‘पहिले–पहिले हामी फारम भराउने गर्थ्यौं। तपाईंको रुचि भएको क्षेत्र कुन हो भनेर विकल्प रोज्न लगाउँथ्यौँ,’ नेपालले भने, ‘सकेसम्म पहिलो, नभए दोस्रो–तेस्रो विकल्पको जिम्मेवारी दिँदा कसैको गुनासो रहँदैनथ्यो। अब पनि त्यस्तो गर्नुपर्छ।’
Shares

प्रतिक्रिया