उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सिंचाइमन्त्री वर्षमान पुनले निर्माण व्यवसायीप्रति जनतामा व्यापक गुनासो रहेको बताएका छन्।
काभ्रेको पनौतीमा रहेको नेपालकै पुरानो विद्युत गृहको शनिबार निरीक्षण भ्रमणका क्रममा जिल्लास्थित नेकपा नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री पुनले निर्माण व्यवसायीप्रति जनतामा व्यापक गुनासो रहेको उल्लेख गर्दै आफूले ठेक्का लिएका काम जिम्मेवारीपूर्वक समयमै सक्न आग्रह गरे।
राजनीतिक नेतृत्वले विकासका लागि नीति तथा कार्यक्रम तय गर्नुका साथै आवश्यक बजेटको व्यवस्थापन गर्ने भन्दै मन्त्री पुनले विकास निर्माणको काम गर्ने कबुल गरेका निर्माण व्यवसायी गम्भीर नहुँदा जनतामा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि देखिने गरेको चर्चा गरेका थिए।
‘प्रधानमन्त्री र मन्त्रीको काम नीति बनाउने, कार्यक्रम बनाउने र बजेट व्यवस्थापन गरिदिने हो। विकास निर्माणको काम ब्युरोक्रेसीमार्फत निर्माण व्यवसायीले गर्ने हो’, उनले भने, ‘राजनीतिक नेतृत्वले गर्नुपर्ने काम गरेको छ। ठेकेदारले काम गर्दैन, अनि सडकमा धुलो उड्यो भने गाली चाहिँ प्रधानमन्त्री र मन्त्रीले खानुपर्ने अवस्था छ।’
कार्यक्रममा मन्त्री पुनले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने विश्वास व्यक्त गरे।
नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तरसंघर्ष र बहस हुनुलाई अस्वाभाविक रुपमा लिन नहुने बताए। उनले पार्टीमा जारी बहसबाट नआत्तिन देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे। उनले नेकपा विवादलाई घर्षणको संज्ञा दिँदै त्यसबाट साकारात्मक शक्ति पैदा हुने विश्वास व्यक्त गरे।
‘हाम्रो पार्टीभित्र अहिले घर्षण उत्पन्न भएको छ। घर्षणबाट सकारात्मक र नकारात्मक दुवै शक्ति उत्पन्न हुन्छ’ उनले भने’, घर्षणलाई सकारात्मक शक्तिमा बदल्ने हाम्रो प्रयास हुन्छ।’
उनले नेताहरुबीच दूरी बढाउने नभई घटाउने काममा लाग्न र बसहमा जिम्मेवारीपूर्वक भाग लिन पनि कार्यकर्तालाई अपिल गरे। सत्तारुढ पार्टीभित्र विवाद चर्किएका कारण सिंगो मुलुकको ध्यान त्यसैमा केन्द्रित भएकाले छिट्टै निकास दिने गरी छलफल हुने स्पष्ट गरे।
मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका काममा रचनात्मक सहयोग गर्न पार्टीपंक्तिलाई आग्रह गरे। यस्तै सरकारले पार्टीसँगको समन्वयमा काम गर्नेपर्ने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया