राजनीति


अब स्थानीय तहले नै विद्यालय खोल्न र बन्द गर्न सक्ने, यस्ता छन् सरकारले दिएका सात विकल्प

अब स्थानीय तहले नै विद्यालय खोल्न र बन्द गर्न सक्ने, यस्ता छन् सरकारले दिएका सात विकल्प

नेपालखबर
मंसिर ३, २०७७ बुधबार १:३०,

कोरोना संक्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने निर्णय अब स्थानीय तह आफैँले गर्न पाउने भएका छन्।

शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय तह आफैँनै निर्णय गर्न सक्ने व्यवस्था मिलाएको हो।

संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ देखि देशभरका अधिकांश विद्यालय बन्द छन्। कतिपय स्थानीय तहमा भने यसअघि नै विद्यालय सञ्चालनमा आइसकेका छन्।

विद्यालय सञ्चालन वा बन्द गर्ने कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन कार्यढाँचा जारी गरिएको मन्त्रालयले जनाएको छ। कार्यढाँचामा संक्रमणको अवस्थालाई स्थानीय र विद्यालय तहमा समीक्षा गरेर भयरहित तथा सुरक्षित तरिकाले सञ्चालनमा ल्याई बालबालिकाको शिक्षण सिकाइ, परीक्षा तथा मूल्यांकनसम्बन्धी प्रक्रियालाई सहज बनाउन सकिने उल्लेख छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब सहज वातावरण भए विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गर्न सकिने छ। त्यस्तै जोखिमको अवस्था देखिए बन्द गर्ने तथा सहज हुँदा पुनः सञ्चालन गर्न सकिने छ।

स्थानीय तह र विद्यालयले बालबालिकाको सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्न सक्ने कक्षाकोठालगायत न्यूनतम पूर्वाधारको व्यवस्था गर्नुपर्ने छ।

त्यस्तै स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, स्यानिटाइजर र तापक्रम नाप्ने व्यवस्था गर्नुपर्नेछ। मास्कको प्रयोग, विद्यार्थीबीच भौतिक दूरी, खाजालगायत व्यवस्थापन पनि गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

यस्ता छन् कक्षा सञ्चालनका सात विकल्प
१. सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने।

२.अलग–अलग समयमा अलग–अलग कक्षा वा तह सञ्चालन गर्ने।

३.विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि-घन्टी छोट्याउने।

४.जोखिम र सहजता हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षा पहिले सुरु गर्ने।

५.कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने।

६.एउटै कक्षाका केही विद्यार्थीलाई फरक सिफ्ट वा फरक दिन र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने।

७.हप्तामा केही दिन वा दिनमा केही घन्टा कक्षा सञ्चालन गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad