ad ad

राजनीति


कालापानीबाट भारतीय सेना फिर्ता गर्न भारतसँग संवाद गरेकाे हो: राष्ट्रपतिका विज्ञ

कालापानीबाट भारतीय सेना फिर्ता गर्न भारतसँग संवाद गरेकाे हो: राष्ट्रपतिका विज्ञ

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १४:१८,

राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टिकाप्रसाद ढकालले केहि समययता नेपालले दुई उद्देश्यसहित भारतसँग विभिन्न तहका संवाद तथा भेटघाटमा सहभागी भइरहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयललाई बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा गोप्य भेटघाट गरेपछि त्यसको आलोचना भइरहेका बेला राष्ट्रपति कार्यालयमा कार्यरत् ढकालले यस्तो प्रतिक्रिया जनाएका हुन्।

‘भारतसँगको ‘इन्गेजमेन्ट’मा हाम्रा दुई उद्देश्य स्पष्ट छन्,’ उनले बिहीबार साँझ ट्विटमार्फत् भनेका छन्, ‘पहिलो, मध्यम कालमा कालापानीबाट भारतीय सेना फिर्ता हुने। दोस्रो दीर्घकालमा नेपाल र भारतबीच सीमा समस्याको सम्पूर्ण समाधान गरी नयाँ सीमा सम्झौता गर्ने, जो सुगौलीपछि भारतसँग त्यस्तो प्रकृतिको नयाँ सन्धि हुन्छ।’

उनले भारतसँग विकास भैरहेको पछिल्लो संवाद शृंखलालाई नहेरी आजको घटना विशेषलाई टिपेर गरिने विश्लेषण अपर्याप्त हुने दाबी गरेका छन्।

ढकालले दुई प्रधानमन्त्री बीचको संवाद, विकास आयोजनाको समीक्षा बैठक, बिभिन्न द्विपक्षीय संयन्त्रका बैठकको निरन्तरता चलिरहेको हुँदा परिणाम निस्कनुअघि अनेक तहमा वार्ता हुने बताएका छन्।

‘अहिले समस्या समाधानका लागि वार्ताको चरण चलिरहेको छ। भारतीय पक्षसँग हरेक तहमा वार्ता गर्न र आफ्ना कुरा स्पष्टताका साथ राख्न नेपाल तयार छ,’ उनी भन्छन्, ‘सम्पूर्ण घटनाक्रमलाई समग्रमा हेर्दा देखिने हात्ती एउटा घटनालाई मात्र छाम्दा डोरी, खम्बा वा नाङ्लो देखिन्छ।’

कुराकानीको चरणमा जुनसुकै तहमा वार्ताहरू हुनसक्ने बताउँदै ढकालले समाधान अन्ततः उच्च राजनीतिक तहबाट आउँछ भन्ने कुरामा कुनै द्विविधा नभएको तर्क गरेका छन्।

‘यस तथ्यलाई लुकाएर गरिने व्याख्या विश्लेषणहरू एकदमै अपर्याप्त छन्,’ ढकालको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .